• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

१४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारी पक्राउ


  • धनकुटा खबर
  • .

मुगुमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायाँनाथ नगरपालिका-५ कार्कीवाडाका ३० वर्षीय बसन्त बहादुर कार्की र कृषी विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय बसन्त रोकाया छन्।

उनीहरूलाई पुस २५ गते पक्राउ गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त सूचना अधिकारी इन्स्पेक्टर भूपेन्द्रकुमार बुढाथोकीले जानकारी दिए।

इन्स्पेक्टर बुढाथोकीका अनुसार अन्य तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरू बालक भएका कारण उनीहरूको नाम खुलाइएको छैन।
कृषि विकास कार्यालय गमगढीकै सवारी चालक जुम्लाको चन्दननाथ नगरपालिका-७ का ३० वर्षीय पदम बहादुर कठायतसहित तीन जना फरार छन्।

बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको समेत खुलेको छ। बालिकाको स्वास्थ्य बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थियो।

चेकजाँचका क्रममा उनको पेटमा गर्भ रहेको देखिएपछि उनीमाथि बलात्कार भएको घटना बाहिरिएको हो।

सोधपुछको क्रममा बालिकाले आफूमाथि पटकपटक बलात्कार भएको घटना प्रहरीलाई सुनाएकी थिइन्।

गत असोज १० गते बसन्त बहादुर कार्कीले बालिका बस्ने डेरामै गएर एकछिन काम छ भनी बोलाएर तान्दै आफ्नो कोठामा लगेका थिए। त्यहाँ बसन्त रोकाया र पदमबहादुर रोकायाले बालिकालाई बलात्कार गरेको पीडित जाहेरीमा उल्लेख छ।

बालिकाको बयान र जाहेरीका आधारमा ५ जनालाई पक्राउ गरिएको इन्स्पेक्टर बुढाथोकीले जानकारी दिए।

फरार भएकाहरूलाई पनि प्रहरीले खोजीरहेको छ। पीडित बालिकालाई एक संस्थाको संरक्षणमा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖