• Monday 5th of October 2026

के मेनुकाले देख्न थालेको भनिएजस्तो प्रविधि विकास भइसकेको हो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका मेनुका पौडेल यति बेला इन्डियन आइडलमा छिन् । उनी इन्डियन आइडलको जारी १४औँ संस्करणको टप १० मा प्रवेश गरिसकेकी छन् ।

संगीतका सुरमा आफ्नो गायन कला भर्न माहिर मेनुकाले नेपालमा मात्र होइन, भारतमा पनि छाप छोडिरहेकी छन् । उनको गायनको खुलेर प्रशंसा भइरहेको छ । स्वरले साथ दिए पनि मेनुकालाई आँखाको दृष्टिले धोका दियो ।

यही समय भारतीय सञ्चारमाध्यमले उनले थोरै भए पनि देख्न थालेको जनाएका छन् । इन्डियन आइडलको मञ्चमै मेनुकाका आँखाको जाँच गरिएको देखाइएको थियो । त्यहीँबाट यो खबर प्रवाह भएको हो ।

इन्डियन आइडलका अनुसार, उनको आँखामा एउटा यस्तो डिभाइस राखिएको छ, जसले लेखेको कुरा हेरेर पढ्न सक्नेछिन् । आफ्नो अगाडि आएको व्यक्ति को हो भनेर सेन्सरमार्फत चिन्न सक्नेछिन् । उनले सामान्य मान्छेले जस्तो देख्न भने सक्ने छैनन् ।

भारतीय सञ्चारमाध्यमले दाबी गरेजस्तो जन्मजात दृष्टि गुमिसकेको व्यक्तिले देख्न सक्ने प्रविधि विकास भएको छ ? तिलगंगा आँखा प्रतिष्ठानकी नानीरोग विशेषज्ञ डा. वन्दना खनाल त्यस्तो प्रविधि प्रयोगमा आइसकेको आफूलाई जानकारी नरहेको बताउँछिन् ।

“कुनै पनि डिभाइसमार्फत आँखाको ज्योति फर्किने भन्ने हुँदैन । जन्मजात नसा सुकेर गुमेको दृष्टि अहिलेसम्म कुनै पनि उपचारले फर्काउन सकेको छैन,” डा. खनालले भनिन्, “सेन्सरमार्फत थाहा पाउने वा देख्ने डिभाइसको अन्तर्राष्ट्रियस्तरमा ट्रायल भइरहेको सुनिएको छ । तर, प्रयोगमा आएको सुनेको छैन ।”

नसा प्रत्यारोपणमार्फत दृष्टि फर्काउने प्रयास भए पनि हालसम्म सफल नभएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖