• Monday 5th of October 2026

दूरसञ्चार प्राधिकरणले भन्यो- टिकटक चलिरहेको भए जानकारी गराउनू


  • धनकुटा खबर
  • .

नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ।

प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भएपनि अझै केही सेवा प्रदायकहरूको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको पाइएकाले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिन भनेको हो।
सरकारको निर्णय कार्यान्वयन नगर्ने केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई स्पष्टिकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएको समेत प्राधिकरणले जानकारी दिएको छ।

सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले दिएको निर्देशन पालना नगरेको पाइए दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ।

‘साथै टिकटकमा पहुँच पुगिरहेको/टिकटक चलिरहेको भए प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्तो इन्टरनेट कम्पनीको बारेमा जानकारी गराउनुहुन समेत सबै इन्टरनेट सेवाग्राहीलाई अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/०७/२७ गतेको बैठकले सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्ष निकाल्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖