• Monday 5th of October 2026

टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित


  • धनकुटा खबर
  • .

काठमाण्डौ – अमेरिकी तल्लो संसद हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकलाई प्रतिबन्ध लगाउने एउटा ऐतिहासिक विधेयक पारित गरेको छ । विधेयकमा टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमेरिकी कम्पनीलाई दिनुपर्नेछ, नत्र अमेरिकाभर सधैँका लागि बन्द हुने उल्लेख छ ।

तल्लो सदनबाट दुई तिहाई बहुमतले यो विधेयक पारित भए पनि यसलाई माथिल्लो सदन सिनेटले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ । तर पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने विषयमा बोली फेरेपछि सिनेटबाट यो पारित हुने/नहुनेमा शङ्का छ ।

यसअघि ट्रम्प नै राष्ट्रपति हुँदा अमेरिकामा टिकटक प्रतिबन्धमा परेको थियो, तर अदालतको आदेशका कारण यो निर्णय पूर्ण कार्यान्वयन हुन पाएको थिएन । तर अहिले भने ट्रम्पले आफ्नै निर्णय विपरित टिकटक प्रतिबन्धको विरोध गर्नुभएको छ, उहाँलाई केहि डेमोक्रयाटिक सांसदले पनि साथ दिएका छन् । चुनावमा युवाको मत तान्न ट्रम्प टिकटक प्रतिबन्ध पक्षमा नरहेको हुन सक्ने शङ्का गरिएको छ ।

टिकटकले राष्ट्रिय सुरक्षा नै खतरामा पार्न सक्ने अमेरिकी सुरक्षा निकायको ठहर छ । तर टिकटकले भने १५ करोड जना अमेरिकी प्रयोगकर्ताको कुनै पनि डेटा चीन सरकारको पहुँच भन्दा टाढा रहेको भन्दै आरोपको खण्डन गर्दै आएको छ । यस्तै, चीनले टिकटक प्रतिबन्ध लगाउने अमेरिकाकोे कदमले उसैलाई समस्यामा पार्ने चेतावनी दिएको छ ।

विदेश मन्त्रालयले भनेको छ, ‘टिकटकले अमेरिकी राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने प्रमाण अमेरिकाले कहिल्यै फेला पारेको छैन, तर टिकटकलाई दबाउन पनि रोकिएको छैन, यसले उसैलाई समस्यामा पार्नेछ ।’

टिकटकले अमेरिकालाई आफ्नो शेयर बेच्न चिनियाँ स्वीकृति लिनुपर्नेछ, तर चीनले यसलाई सीधै अस्वीकार गर्ने सम्भावना छ । कम्पनीले यसअघि आफ्नो मूल्य २ खर्ब ६८ अर्ब डलर रहेको जनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖