• Tuesday 6th of October 2026

एयरब्यागले ज्यान जोगियो :विशाल भण्डारी


  • धनकुटा खबर
  • .

काठमाडौं । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी घातक सवारी दुर्घटनामा परेर जोगिएका छन् । उनीसमेत ६ जना चढेको कार भक्तपुरको जगातिमा दुर्घटनाग्रस्त भएको थियो । गाडीमा सवारमध्ये सुशान्त बस्याल गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन् । पवन भट्टराई र रजनिश अर्याल डिस्चार्ज भएका छन् भने प्रकृती गिरी अस्पतालमै छिन् ।

दुर्घटनामा विशाल र पुजन अधिकारीलाई सामान्य चोट लागेको थियो जबकि उनीहरू दुवै गाडीको अगाडी सीटमा थिए । टिपरसँग ठक्कर खाएर कारको अग्रभाग क्षतिग्रस्त हुँदा पनि उनीहरू कसरी सकुशल रहे ? विशालका अनुसार एयरब्यागले उनीहरूलाई जोगाएको हो ।

उनले भने, ‘एयरब्याग नभएको भए हाम्रो हामी दुवैको ज्यान जोगिन मुस्किल हुन सक्थ्यो ।’

(एयरब्याग उच्च मूल्यका कारहरूमा हुने एउटा सुविधा हो । कार कुनै वस्तुमा ठोकिएर आकस्किमरूपमा रोकियो भने तत्काल एयरब्याग खुल्छ र टाउकोलाई अगाडि ठोकिनबाट जोगाउँछ ।)

दुर्घटनालगत्तै विशालले तीन दिन प्रहरी हिरासतमा बस्नुपर्‍यो । उनी र पुजन अधिकारी दुवैले गाडी आफूले नचलाएको बताएपछि प्रहरीले दुवैलाई पक्राउ गरेर राखेको थियो । गाडीमा सवार सबैले मापसे गरेको हुँदा उनीहरू थप समस्यामा परे । यद्यपि, सुशान्त बस्यालका परिवारसँग लिखित सहमतिपछि दुवै हाजिरी जमानीमा रिहा भइसकेका छन् ।

हिरासतमुक्त भएपछि पहिलोपटक नेपाल प्रेससँग घटनाबारे कुराकानी गरे । हाम्रो पहिलो प्रश्न थियो- दुर्घटना भएको बेला गाडी कसले चलाएको थियो ?

भण्डारीले यसमा जवाफ दिन चाहेनन् ।

‘यो प्रहरीले अनुसन्धान गरिरहेको विषय भएको हुँदा मैले सार्वजनिकरूपमा बोल्न मिल्दैन,’ उनले भने । गाडीमा सवार सबैजनाले मापसे गरेको विषयमा पनि उनले यही जवाफ दिए ।

‘प्रहरीले हाम्रो अनुसन्धान नसकिँदासम्म यस्तो विषयमा केही पनि बाहिर नबोल्नुहोला भनेर सचेत गराएको छ,’ उनले भने, ‘तपाईंहरू घाइतेको उपचारमा ध्यान दिनुस, अरु कुरा हामीलाई छाडिदिनुस् भनेका छन् ।’

विशालका अनुसार उनीहरू राति साढे २ बजेतिर मुलपानीस्थित कमेडी च्याम्पियनको कार्यालयबाट निस्किएका थिए । नगरकोट जान भनेर हिँडे पनि योजना फेरिएपछि धुलिखेलतिर लागेको उनले जानकारी दिए ।

‘हाम्रो भोलिपल्ट भिडिओ सुटिङ थियो । भोलि जानु नै छ, आजै गएर रमाइलो गरौं न भन्ने सल्लाह भयो,’ उनले भने, ‘‘धुलिखेल जाने क्रममा दुर्घटना भएको हो । अगाडीबाट आइरहेको टिपरसँग अचानक ठोक्कियो ।’

गम्भीर घाइते भएका सुशान्तको अवस्थामा सुधार देखिएपछि भण्डारीले सन्तोषको सास फेरेका छन् । हिरासतबाट निस्केपछि उनी आफैंले अस्पतालका चिकित्सकहरूसँग कुराकानी गरेका थिए ।
‘मैले डाक्टरहरूसँग कुरा गर्दा रिपोर्टहरू सकारामत्क आइरहेको बताउनुभएको छ । हामीले सोधेको प्रश्नको जवाफ दिन थालेको छ । उसको शरीरले जुन हिसाबले रेस्पोन्स गरिरहेको छ, त्यो चाहीँ क्वीक रिकभरी हो भन्ने डाक्टरको भनाइ छ,’ उनले भने ।

सवारी दुर्घटनाका कारण कमेडी च्याम्पियनको यो हप्ताका दुई एपिसोड सुटिङ हुन नसकेको भण्डारीले जानकारी गराए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖