• Tuesday 6th of October 2026

यौन सम्बन्ध राख्न मरिहत्ते गर्ने तर कण्डम प्रयोग गर्न हिच्किचाउने!


  • धनकुटा खबर
  • .

डा अच्युत शाली घिमिरे

म कार्यरत बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गत साल फागुन ७ गते पहिलोपटक अप्रेसन गरी आकस्मिक प्रसूति गराइयो। तीन दिनदेखि व्यथा लागेर प्रसूति हुन नसकेकी मुगु, खत्याड गाउँपालिका वडा नं १० की निर्मला चदाराको बाजुराको कोल्टीमै अप्रेसन गरेर बच्चा निकालिएको थियो।

निर्मलाले चौथो सन्तानको जन्म दिँदै थिइन्। तर, जब चौथो सन्तानका रुपमासमेत छोरीको जन्म भयो न निर्मला खुसी थिइन् न त उनका श्रीमान्। अझ सिस्टरहरुसँग कसैले यो बच्चा लगेर पालिदिए नि हुन्थ्यो भन्ने खालका अभिव्यक्ति पनि दिएकी थिइन् अरे!

एक त घरमै रहेका सन्तानको लालनपालन राम्ररी गर्न नसकीरहेको अवस्थामा अर्को एक जना थपिनुले यो मनस्थितिमा गुज्रिनु स्वाभाविक जस्तो पनि देखिन्छ। तर, विशेषतः श्रीमानहरु परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किचाउनु र छोराकै चाहनामा अनइच्छित गर्भ राखिराख्न बाध्य पारिरहँदा महिलाहरु विवश हुनुबाहेक विकल्प छैन। त्यो मात्र हैन, पछि उचित स्याहारसुसारको अभावमा हुने बच्चाको कूपोषण त छँदै नै छ। अझ डरलाग्दो भोकमरी र अभावले सिर्जना गर्ने दैलेखको जस्तै सामूहिक आत्महत्या अरु पनि नदोहोरिएलान् भन्न सकिन्न।

बाजुरा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा नै आउने अरु घटना भनेको अविवाहितहरुको पनि छ। १५ देखि २० वर्षसम्मका किशोर किशोरीहरु यौन सम्बन्ध राख्छन् र कुनै डाक्टरी सल्लाहबिनै गर्भपतनको औषधि ‘हाइ डोज’मा खान्छन् अनि इमरजेन्सी भएपछि हतार-हतार अस्पताल आउँछन्। परिवार र समाजमा अपमानित हुने डरले गैरकानुनी रुपले गर्भ फाल्न अन्त पनि धाउँछन् होला। अनेकौं आपतकालीन अवस्थाहरुले किशोरीको ज्यान नै खतरामासमेत पर्नसक्छ। यो सबै कुराको जड भनेको अपरिपक्व यौन सम्बन्ध हो।

बाजुरालगायत अन्य दुर्गम जिल्लाहरुमासमेत शारीरिक सम्पर्कलाई हलुका रुपले लिने किशोर किशोरीहरु धेरै छन्। थौरै बोल्दैमा, हाँस्दैमा, सँगै बस्दैमा माया प्रेम नै बस्यो भन्ने भानमा पर्दछन्। र, हतार-हतार यौन सम्पर्क गर्न पुग्दछन्। माया गर्नु भनेकै र मनोरञ्जन लिनु भनेकै यौनभन्दा अरु थोक केही होइन भन्ने सोच्दछन्। १५ देखि २० वर्षसम्मका यी किशोर किशोरीहरुलाई अस्थायी परिवार नियोजनसम्बन्धी ज्ञान पनि त्यति हुँदैन र भए पनि प्रयोग गर्न हिच्किचाउँछन्।
कण्डम त हाम्रै स्वास्थ्य केन्द्रमासमेत निःशुल्क पाइन्छ। तर, यहाँबाट लैजाने वा बाहिर कतै मेडिकलबाट किन्ने आँट किशोरहरुमा हुँदैन। कसैले देखिहालेमा के जवाफ दिने भनेरै पीर मान्ने गर्छन्। मन परिसकेपछि र विपरीत लिंगीप्रति आकर्षित भइसकेपछि अर्को सजिलो स्टेपका रुपमा उनीहरुले यौनलाई लिने गर्छन्। विवाहअघिको यौन सम्बन्ध कति ठीक, कति बेठीक यो अर्को बहस होला। तर, विवाहअघिको अपरिपक्व र सावधानीबिनाको यौन सम्बन्धले स्वास्थ्य र समाजमा ठूलो असर निम्त्याउँछ। बैँसको जोस र जाँगरमा आएर देखासिकीमा लाग्दा जाबो कण्डम प्रयोग गर्न हिच्किचाउने किशोरहरुले भविष्यको बारेमा सोच्लान् भनेर त पत्याउन पनि गाह्रो छ।

कण्डम किनेर प्रयोग गर्न जति गाह्रो मान्छन् त्यति नै गाह्रो यसको प्रयोगपछिको डिस्पोज गर्नसमेत मान्दछन्। आफ्नो बारेमा नकारात्मक सन्देश फैलिने डरले डिस्पोज गर्ने झन्झटबाट मुक्त हुनसमेत यसको प्रयोग गर्दैनन्। हाम्रो समाज पनि गिज्याउने मनस्थितिमा रहिरहन्छ जहिल्यै पनि। फलानोको छोरो फलानोको छोरीसँग सँगै सुत्नलाई कण्डम किनेर लगेको होला जस्ता गफ फिजाउन माहिर हुन्छन्, छरछिमेकहरु। त्यसैले पनि बाहिरी दुनियाँको आँखा छलेर लुकिछिपी यौन सम्पर्क राख्न खोज्दा किशोर किशोरीले धेरै त्रुटि गर्छन् र दुर्घटना निम्त्याउँछन्।

प्रेम र मायाको जालहरुमा फस्दै एकजना किशोरीले नै ८-१० जना केटाहरुसँग सम्पर्क राख्दै हिँड्नु चानचुने कुरा होइन। अनि मज्जा नआउने र सन्तुष्टि नपाउने फितलो तर्कमा कण्डम प्रयोग नै नगर्दा गैरकानुनी गर्भपतनका घटनाहरु पनि बढिरहेका छन्। यौनजन्य रोगहरु एकबाट अर्कोमा सर्ने भयावह अवस्था त झन् आकलन गरेभन्दा बाहिर छ।

यौनिकताका विषयहरुमा जनचेतना नभएकै हो। बुझेर पनि प्रयोगमा नगएकाहरुलाई त बुझाउन सकिँदैन तर पनि भर्खरका किशोर किशोरीलाई यौनिकताका सवालहरुमा स्पष्ट पार्नुपर्छ। प्रजनन् अंग र प्रजनन् स्वास्थ्य शिक्षा महत्त्वपूर्ण छ। प्रेमसँग यौनको कस्तो सम्बन्ध रहन्छ? र कुन कुरा कुन समयका लागि ठीक हुन्छ भन्ने पनि सिकाउनुपर्दछ। गाउँघरमा मोबाइल पुग्यो, इन्टरनेट पुग्यो, युट्युबका भिडियोहरु पुगे तर यी सबैका सही प्रयोग हुन सकेनन्। विकृति झांगियो। समयभन्दा अगावै भाइरल मानसिकतामा गुज्रिन थाले युवा युवतीहरु। जसका कारणसमेत परिणाम डरलाग्दो हुँदै छ। यौनलाई प्रेमको अल्पकालीन निचोड मान्दा धेरै ठक्करको सामना गर्नुपर्ने हुन्छ। घर परिवारमा यौनको सीमा र परिधिमासमेत खुल्ला छलफल हुनुपर्छ। बुवा आमाले छोराछोरीको हुनसक्ने जवानीको उन्मादयुक्त व्यवहारलाई सन्तुलनमा ल्याउन सक्नुपर्छ।

र, विवाहित दम्पतीहरुले समेत परिवार नियोजनका अस्थायी साधनमा कण्डम, पिल्स, डिपोप्रोभेरा, नरप्लान्ट, आईयूसीडी, डायफ्राम प्रयोग गर्न हिच्किचाउनु हुँदैन। कण्डम महिला र पुरुष दुवैले प्रयोग गर्न सकिन्छ वा सन्तानको रहर पुगेका महिला तथा पुरूष दुवैले स्थायी बन्ध्याकरण गर्न सक्छन्। हाम्रै स्वास्थ्य केन्द्रकै कुरा गर्दासमेत पुरुषहरुले कण्डमप्रति अनिच्छा देखाएर हो कि किन हो महिलाहरुले धेरैले डिपोप्रोभेरा लगाउन आउने गर्दछन्। डिपोप्रोभेरा तीन/तीन महिनामा दिने इन्जेक्सन हो।

महिलाले डिपोप्रोभेरा जुनसुकै उमेरमा पनि लगाउन सक्छन्। धेरै महिलाले परिवार नियोजनका साधनले तौल बढ्यो भन्छन्। तर, डिपोप्रोभेराले तौल बढाउँदैन। महिलाले इन्जेक्सन लगाउँदा कमजोरी भयो भन्दै धेरै खाना खाने हुनाले तौल बढेको हुन्छ। डिपोप्रोभेराको प्रमुख असर भनेको महिनावारी नहुने हो। यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ। महिलाले डिपोप्रोभेरा लगाउन छाडेको छ देखि नाै महिनापछि मात्र गर्भाधारण गर्न सक्छन्।

कर्णाली र सुदूरपश्चिमका पहाडी भेगहरुमा अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्दा श्राप लाग्ने कथन र छोराको व्यापक चाहाना हुनाले समेत बच्चा निरन्तर पाइराखेर आफ्नो स्वास्थ्य नै प्रतिकूल बनाएका आमाहरु धेरै छन्। लगातार सातदेखि ११ वटासम्म छोरी पाउँदासमेत छोरा पाउने धित मरेको हुँदैन। छोरा पाएपछि स्वर्ग जाने बाटो खुल्ने र बूढेसकालमा आराम मिल्ने नाटीकुटी र अन्धविश्वासमा स्वास्नी मान्छेहरु लगातार सानै उमेरमा बच्चा जन्माइरहन्छन्। यसकै कारणले धेरै पाठेघर खस्ने, ढाड दुख्ने तथा सेतो पानी बग्ने समस्या लिएर स्वास्थ्य केन्द्र आइपुगेका हुन्छन्।

त्यसैले अविवाहित र विवाहित दुवै उमेर समूहले यौन सम्पर्कमा अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्दा आफ्नै स्वास्थ्य र शरीरप्रति ज़िम्मेवार हुन सिकाउँछ। अनेकौं भ्रममा परी क्षणिक मज्जाका लागि दुर्घटनाको बाटो नरोजौं।-स्वास्थ्य खबर पत्रिका

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖