बिवाहपछि सन्तानको अपेक्षा गर्नु स्वभाविक हो । जब बिहे गरिन्छ, सन्तानको लोभ लाग्न थाल्छ । अक्सर महिला आफ्नो काखमा बच्चा खेलाउन लालयित हुन्छन् । यसका लागि कतिले निश्चित अवधी तय गर्छन् । अर्थात आफुलाई व्यवस्थित गरिसकेपछि मात्र बच्चा जन्माउने योजना बनाउँछन् । कतिपय भने हतारिन्छन् । यसो भनौं, कति दम्पती चाडै बच्चा जन्माउन चाहन्छन् ।
तर, चाहे अनुसार गर्भधारण हुन्छ त ? चाहेकै समयमा महिलाले गर्भधारण गर्नका लागि थुप्रै तालमले मिलाउनुपर्ने हुन्छ । गर्भवती हुने सही तरीका, सही समय, दिन, सुरुवाती लक्षण, सावधानी र अन्य केही उपायहरुबाट सजिलैसँग थाहा पाउन सकिन्छ कि महिला कहिले गर्भवती हुन्छन् । यदि तपाईं निकट भविष्यमा गर्भवती हुने योजना छ भने यी तलका कुराहरु जान्नुपर्ने हुन्छ ।
केही महिलाहरुको मासिक धर्म ठीक समयमा हुन्छ भने केहीको अनियमित हुन्छ । अनियमित अर्थात् समयभन्दा छिटो वा समयभन्दा ढिलो । मासिक धर्म सही समयमा हुने महिलाहरुलाई गर्भधारणमा धेरै समस्या आउँदैन । जुन महिलाहरुको समयमा पिरियड आउँदैन उनीहरु गर्भवती हुन अलिकति जटिल हुन्छ । तर, यसको मतलब यो होइन कि उनीहरु गर्भवती हुन सक्दैनन् । बच्चा पैदा गर्ने तरीका र शारीरिक समागमको बारेमा खुलेर कुरा नगर्ने कारणले पनि धेरै महिलाहरु चाहेको समयमा गर्भवती हुन सक्दैनन् ।
गर्भवती हुनका लागि शारीरिक समागम आवश्यक हुन्छ । र, यो समागम सही समयमा हुनु महत्वपूर्ण छ । सही समयको जानकारी ‘ओभुलेसन टाइम’ बाट प्राप्त हुन्छ । यो गर्भधारण गर्ने उचित समय हो । अब गर्भधारण गर्ने सही तरीका के हो र ओभुलेसन पीरियड के हो भन्ने पनि जानौ ।
ओभुलेसन टाइम कसरी थाहा पाउने ? । गर्भधारण गर्नका लागि आभुलेसन पीरियड सबैभन्दा राम्रो समय हो । यो एक प्रकारले मासिक धर्मसँग जोडिएको समय नै हो । ओभुलेसन पीरियड कहिले सुरु हुन्छ भन्ने जान्नुभन्दा अगाडि यो बुझ्नुस कि हरेक महिलाको आभुलेसनको समय फरक फरक हुन्छ र ओभुलेसनको समय थाहा पाउनका लागि महिलाको पीरियड्सको समय थाहा हुनुपर्छ ।
पीरियड सुरु हुनुभन्दा लगभग १२ देखि १४ दिन अगाडिको समयमा नै ओभुलेसन हुन्छ र यो पीरियड आउनुभन्दा ७ दिन अगाडिसम्म रहन सक्छ । ओभुलेसन नै त्यो समय हो जसमा यदि यौनसम्वन्ध राख्यो भने गर्भ बस्ने सम्भावना सतप्रतिशत हुन्छ । ओभुलेसनको समय (महिनावारीको १२ देखि १४ दिन अगाडि) र त्यसको पछिल्लो पाँच दिन महिलाको प्रजनन क्षमता अत्यधिक हुन्छ ।
मानौं कुनै महिलाको महिनावारी २५ मा आउँछ भने उसको ओभुलेसन समय ११ देखि १३ को बीचमा हुन सक्छ । चाँडै गर्भवती हुन चाहनुहुन्छ भने ओभुलेसनलाई अवश्य ध्यानमा राखनुस । महिलाहरु शुक्राणु र अन्डाको मिलनबाट गर्भवती हुन्छन् । एक पटक गर्भासयबाट निस्केपछि २४ देखि ३६ घन्टासम्म अन्डा जिवित रहन्छ । त्यसैले यो समयमा सम्वन्ध राख्नु जरुरी छ ।
ओभुलेसन पीरियडका दौरानमा गर्भधारणका लागि हरेक रात यौनसम्वन्ध राख्ने गर्नुस । त्यो सम्भव भएन भने एक दिन बिराएर गर्नुस । यसो गर्दा शुक्राणु र अन्डाको मिलनको सम्भावना बढ्छ । आफ्नो महिनावारीको सही समय थाहा भएका महिलाहरुलाई ओभुलेसन टाइम पत्ता लगाउन र गर्भधारणको योजना बनाउन सजिलो हुन्छ । तर, अनियमित मासिक धर्म हुने महिलाहरुका लागि यो कठिन हुन्छ । समयमा महिनावारी नहुने महिलाहरुले गर्भधारणको प्रयास गर्नुअघि आफ्नो अनियमित महिनावारीको उपचार गराउनुपर्छ ।
सन्तान जन्माउन तपाईंसँग अध्ययन वा वृत्तिविकाससम्बन्धी प्राथमिकता के छन् भन्ने कुरामा ध्यान र्पुयाउनुपर्छ । विशेष गरेर सन्तान जन्माइसकेपछि उसको हेरचाहमा पर्याप्त समय र धन लगाउन आवश्यक हुन्छ । त्यसका लागि तपाईं तयार हुनुहुन्छ कि हुनुहुन्न, राम्रोसँग सोचविचार गर्नुपर्छ ।
पुरुषले चरमसुख पाउने हाराहारीमा लिंगबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य भनिन्छ । यही वीर्यमै शुक्रकीट हुन्छन् । एकपल्ट वीर्य स्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर वीर्य निस्कन्छ । वीर्यमा हुने शुक्रकीटको संख्या सधंै एकैनासको नहुन सक्छ । शुक्रकीटको संख्या ४ देखि १२ करोड प्रतिमिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ ।
कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिर आउँछ, यो स्वाभाविक हो । महिलालाई त्यसले कुनै असजिलो सिर्जना गर्छ भने यौनसम्पर्कपछि कुनै कपडाले पुछ्न सकिन्छ ।
अर्को कुरा, अन्डरवेयरभित्र लगाइने सानो स्यानिटरी प्याड लगाउन सकिन्छ । यदि वीर्य स्खलन योनिको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वीर्य बाहिर निस्किएजस्तो लागे पनि पर्याप्त शुक्रकीट पाठेघरको मुखसम्म पुग्छन् ।
सामान्यत यसरी वीर्य बाहिर निस्कँदा गर्भधारण नहुने होइन । यसले त पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ । त्यसैले यस विषयमा अनावश्यक चिन्ता गर्नु पर्दैन । गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित डिम्बको मिलनबाट हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ ।
यौनसम्पर्कका बेला पुरुषको वीर्य स्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बमा ती असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ ।
कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं त्यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकिटसँग मिलन हुन डिम्ब निस्किएको समय हुन जरुरी छ ।
महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएकी महिलाको १४ औं दिन तिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौन सम्पर्क गर्दा गर्भ रहने संभावना एकदम धेरै हुन्छ ।
शुक्रकीट डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिन पछिको समय लाई गर्भधारणको दृष्टिकोणले असुरक्षित समय मानिन्छ । सामान्यतया महिनावारी सुरु भएको आठौं दिनमा यौन सम्पर्क गर्दा गर्भरहने सम्भावना न्यून हुन्छ ।
नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा करिब ८० प्रतिशत पुग्छ ।
यद्यपि महिनावारी ठीक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ किनभने यो भरपर्दो नहुन सक्छ । गर्भ निरोधको कुनै साधन प्रयोग नगरी एक वर्षसम्म नियमित रूपमा यौनसम्पर्क गर्दा पनि गर्भ रहेन भने कतै केही खराबी छ कि भनेर खोजतलास गर्न परीक्षण गराउनुपर्ने हुन्छ ।
माथि भनिएझैं योनिबाट वीर्य बाहिर निस्कनु सामान्य नै भएकाले कुनै विशेष यौन आसन अपनाउनु पर्दैन । तपाईं माथितिर बसेर गर्दा होस् वा तपाईंका श्रीमान्, राम्रोसँग वीर्य स्खलन भए शुक्रकीट पाठेघर हुँदै डिम्बवाहिनी नलीसम्म पुग्न सक्छ । कति पटक यौनसम्पर्क गर्ने भन्ने कुरा त तपाईंको इच्छामा भर पर्ने कुरा हो ।
महिनावारी भएको कति दिनमा सेक्स गर्दा गर्भ रहन्छ ? वा कुन कुन सुरक्षित दिन हो ? भन्ने विषय एकीन गर्न गाह्रो छ। किन की महिलाको महिनावारी चक्र कति दिनको छ, यसले निर्धारण गर्छ । नियमित महिनावारी हुने र नहुनेमा यसले फरक अर्थ राख्छ।
