• Monday 5th of October 2026

एप्पलले गुमायो नम्बर वानको ताज, सामसुङको पुनरागमन


  • धनकुटा खबर
  • .

‘विश्वको नम्बर वान’ स्मार्टफोन निर्माता कम्पनीको ताज एप्पलले गुमाएको छ । योसँगै नम्बर वान स्मार्टफोन कम्पनीको शीर्ष स्थानमा सामसुङले पुनरागमन गरेको छ ।

डेटा रिसर्च कम्पनी आईडीसीले चालु वर्ष सन् २०२४ को पहिलो त्रैमासमा विश्व बजारमा पठाइएका (शिपमेन्ट गरिएका) स्मार्टफोनको संख्याका आधारमा तयार पारेको रिपोर्टले यस अवधिमा एप्पलको शिपमेन्टमा १० प्रतिशतले गिरावट आएसँगै शीर्ष स्थान गुमाएको हो ।

उता पहिलो स्थानमा पुनरागमन गरेको सामसुङले विश्व स्मार्टफोन बजारमा आफ्नो हिस्सा बढाउँदै २०.८ प्रतिशत पुुराएको छ । दोस्रो स्थानमा खस्किएको एप्पलको बजार हिस्सा १७.३ प्रतिशतमा खुम्चिएको छ ।

आइफोन निर्माता एप्पलले गत वर्षको डिसेम्बर त्रैमासमा सामसुङलाई पछि पार्दै नम्बर वान स्मार्टफोन कम्पनी बन्न सफल भएको थियो । तर, उसले त्यो ताज लामो समयसम्म टिकाउन सकेन ।

दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०२४ को सुरुवातमै सामसुङ ग्यालेक्सी एस२४ सिरिज लञ्च गरेको थियो । वर्षको पहिलो त्रैमासमै कम्पनीले ६ करोडभन्दा धेरै फोन विश्व बजारमा पठाउन सफल भयो ।

ग्यालेक्सी एस २४ को विश्वव्यापी बिक्रीमा गतवर्ष लञ्च भएको ग्यालेक्सी एस २३ को तुलनामा ८ प्रतिशतको वृद्धि देखियो ।

उता वर्षको पहिलो त्रैमासमा एप्पलले भने ५ करोड १ लाख गोटा आइफोन विश्व बजारमा पठाएको छ। ग्तवर्ष यही अवधिमा आइफोनको शिपमेन्ट ५ करोड ५४ लाख गोटा थियो ।

बजार हिस्साको हिसाबले सामसुङ र एप्पलपछि विश्वको तेस्रो ठूलो स्मार्टफोन कम्पनी शाओमी बनेको छ । यो वर्षको पहिलो त्रैमासमा चिनियाँ स्मार्टफोन निर्माता शाओमीको मार्केट शेयर १४.१ प्रतिशत छ । यस अवधिमा उसले ४ करोड ०८ लाख गोटा स्मार्टफोन बिक्री गरेको छ, जुन गत वर्षको यहीँ अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो ।

त्यस्तै चौथो स्थानमा अर्को चिनियाँ स्मार्टफोन कम्पनी ट्रान्सन रहेको छ । पहिलो त्रैमासमा कम्पनीले २ करोड ८५ लाख गोटा स्मार्टफोन बजारमा पठाएको छ, जुन गतवर्षको यही अवधिको तुलनामा ८५ प्रतिशतले बढी हो । विश्व स्मार्टफोन बजारमा ट्रान्सनको हिस्सा ९.९ प्रतिशत रहेको छ ।

त्यस्तै पाँचौं स्थानमा पनि अर्को चिनियाँ कम्पनी ओप्पो छ । पहिलो त्रैमासमा ओप्पोले कुल २ करोड ८५ लाख गोटा स्मार्टफोन शिपमेन्ट गर्दै विश्व स्मार्टफोन बजारको ८.७ प्रतिशत हिस्सा कब्जा गर्न सफल भएको छ ।

यसैबीच वर्षको पहिलो त्रैमासमा विश्व स्मार्टफोन बजारमा स्मार्टफोनको आपूर्तिमा ८ प्रतिशतले वृद्धि भएको छ ।

आईडीसीको तथ्यांक अनुसार यस अवधिमा विश्व स्मार्टफोन बजारमा २८ करोड ९० लाख गोटा स्मार्टफोनको शिपमेन्ट भएको छ ।

विश्व स्मार्टफोन बजारमा लगातार वृद्धि देखिएको यो तेस्रो त्रैमास हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖