• Wednesday 7th of October 2026

२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’


  • धनकुटा खबर
  • .

काठमाडौँ । फिल्म ‘महाजात्रा’ शुक्रबारदेखि प्रदर्शनको पाँचौँ सातामा प्रवेश गर्न सफल भएको छ । फिल्मले अहिलेसम्म विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको निर्माण संस्था षट्कोण आर्ट्सले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख (पन्ध्र करोड नब्बे लाख) र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख (दश करोड पचहत्तर लाख) रुपैयाँको व्यापार गरेको छ ।

‘जात्रा’को तेस्रो सिक्वेको रूपमा निर्माण भएको फिल्ममा ‘महाजात्रा’ अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ । फिल्मले अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपालीकला, संस्कृति र भाषाको प्रवर्द्धनमा सहयोगी भूमिका निर्वाह गर्न सफल भएको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।

अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा ९० बढी शो, संयुक्तराज अमेरिकामा ६५ बढी शो, न्युजिल्यान्डमा १४ शो, युरोप अन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो भईसकेको छ । यस्तै, अष्टेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली फिल्म बनेको छ । अप्रिल २१ सम्मको यसको कुल ३३ शो सेड्युल गरिएको छ । यति शो अहिलेसम्म सिड्नीमा कुनै नेपाली फिल्मको छैन ।

प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माझ ल्याउने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖