• Sunday 18th of October 2026

वीरेन्द्र ताल: हिउँ बसेको पहाड नै खसेको हुनसक्छ


  • धनकुटा खबर
  • .

काठमाडौँ । गोरखाको वीरेन्द्र तालमा आज बिहानदेखि अचानक अत्यधिक पानी थपिँदै गएपछि तालको निकास बिन्दुबाट पानी बाहिर बगिरहेको छ । अत्यधिक मात्रामा बाहिर बगेको पानी बुढीगण्डकी नदीमा पसेपछि सतह बढेको छ भने नदीको तटीय क्षेत्रका गाउँहरूलाई सतर्क गराइएको छ ।

के यो हिमपहिरो हो ?

हिमताल विशेषज्ञ र जलवायुको प्रवृत्तिबारे जानकार व्यक्तिहरू वीरेन्द्र तालमा पानीको मात्र बढोत्तरी भएको विषयलाई हिमपहिरो झरेको नै मानिरहेका छन् । उनीहरूको प्रारम्भिक विश्लेषण अनुसार, पहिलादेखि नै रहेका हिमताल र हिउँ पग्लेपछि बन्ने गरेका तालको प्रकृति फरक हुन्छ । वीरेन्द्र ताल हिमताल हो । आज यसमा थपिएको अत्यधिक पानी चाहिँ हिउँ पग्लेर थपिएको हो । यो मौसम हिउँ पग्लिने मौसम भएकाले यसलाई अस्वाभाविक मान्न नसकिने भए पनि हिउँ कसरी पग्लियो भन्ने पक्ष भने विश्लेषण हुनुपर्ने उनीहरूको भनाई छ ।

यो मौसममा हिउँ माथिल्लो सतहबाट बिस्तारै पग्लिँदै बग्ने गर्छ, यो हिउँ पग्लिने नियमित प्रवृत्ति हो । तर, कहिलेकाहीँ भने हिउँ जमेर बसेको जग नै धसिएर झर्ने गर्छ, जसलाई हिमपहिरो पनि भनिन्छ । जमिनको सतहभित्र पग्लिएको हिउँको तरल पदार्थ पसेर जमिनको जग कमजोर पारिदिनाले पहिरो खस्ने गर्दछ । यस्ता घटना भइरहने विज्ञहरूको भनाई छ ।

हिमपहिरो विज्ञ सुदीप सिंह ठकुरीले वीरेन्द्र ताललाई हिमताल नै भएको बताउँदै ताल क्षेत्र वरिपरिको भिरालो जमिन र खोँचमा सतहभित्र पानी पसेर हिउँ जमेर बसेको जमिनको ठुलो ढिक्का तालमा खसेको हुनसक्ने अड्कल काटे । यतिबेला सुर्खेत पुगेका ठकुरीले आफू पनि जिज्ञासापूर्वक वीरेन्द्र तालको घटनाको थप विवरण जान्न आतुर रहेको बताए ।

ठकुरीका अनुसार, तापक्रम बढ्दैजाने मौसम भएकाले हिउँ पग्लिनु कुनै अनौठो कुरा नभएपनि हिउँ जमेर बसेको जमिनको ठुलो हिस्सा नै खसेको हो भने यो फरक विषय भएको बताए ।

जलवायु विशेषज्ञ ङमीन्द्र दाहाल जलवायु परिवर्तनपछि तापक्रमको नियमित सन्तुलन खलबलिएकाले हिउँ पग्लिने प्रवृत्ति पनि फेरिएको बताउँछन् । हिमताल र हिउँ झरेपछि जमेर बनेको ताल फरक हो भन्दै दाहाल ताल फुटको नभएर अचानक थपिएको पानी भरिएर बाहिर बगेको हुनसक्छ भन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖