काेलकाता, १ कात्तिक । भारतको पश्चिम बंगालस्थित कोलकातामा दुर्गापूजाको पण्डालमा अत्यधिक भीडका कारण भागदौड मच्चिँदा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
दुर्गा सप्तमीको साँझ चोरबागानस्थित शारदा पार्क पूजा पण्डालमा अत्यधिक सङ्ख्यामा दर्शनार्थी जम्मा भएका बेला उक्त दुर्घटना भएको हो। शनिबार साँझ करिब ७:४० बजे वर्षा भइरहेका समय पण्डालको निकासद्वारमा भागदौड मच्चिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटनालगत्तै उद्धार टोली परिचालन गरी घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। उनीहरूलाई तत्काल उपचारका लागि कोलकाता मेडिकल कलेज अस्पताल लगिएको छ। प्रहरीका अनुसार घटनास्थलमा नियन्त्रण कक्ष, दमकल, कोलकाता प्रहरी, विपद् व्यवस्थापन टोली, स्वास्थ्यकर्मी र एम्बुलेन्स परिचालन गरिएको थियो।
दुर्घटनापछि सुरक्षालाई मध्यनजर गर्दै उक्त पूजा पण्डाल सर्वसाधारणका लागि बन्द गरिएको छ। घाइतेहरूको उद्धार तथा उपचारलाई सरकारले उच्च प्राथमिकता दिएको जनाइएको छ।
यसैबीच, पश्चिम बंगालका मुख्यमन्त्रीले घाइतेहरूको अवस्थाबारे जानकारी लिन अस्पतालको अवलोकन गर्नुभएको समाचारमा उल्लेख छ। घटनाबाट प्रभावित परिवारलाई सहयोग पुर्याउन सरकारले हेल्पलाइन नम्बर १८००३४५५६७८ समेत सार्वजनिक गरेको छ।
दुर्गापूजाका अवसरमा अत्यधिक भीड लाग्ने भएकाले यस्ता ठूला उत्सवहरूमा भीड व्यवस्थापन र सुरक्षा प्रबन्धको पक्षलाई लिएर यस घटनाले गम्भीर प्रश्न उठाएको छ।
