• Wednesday 7th of October 2026

के राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?


  • धनकुटा खबर
  • .

रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्‍यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्‍याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु ।

यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन डा. रविनबहादुर बस्नेत बताउँछन् ।

‘राति बारम्बार पिसाब लाग्नुले मधुमेह, युरिनरी ट्र्याक्ट इन्फेक्सन वा प्रोस्टेटसम्बन्धी रोगलाई पनि संकेत गर्छ,’ उनी भन्छन् ।

धेरै पानी पिउनाले बारम्बार पिसाब लाग्छ ?

सुत्नुअघि धेरै पानी पिउने भएकाले राति धेरै पिसाब लाग्नु सामान्य कुरा हो भन्ने धेरैले सोच्छन् । तर यो सधैं हुँदैन । यो मधुमेह तथा अन्य गम्भीर समस्याको लक्षण हुन सक्ने थाइराइड तथा मधुमेहरोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् ।

‘यदि सुत्नुअघि धेरै पानी पिइयो भने कहिलेकाहीं राति पटक-पटक पिसाब लाग्न सक्छ । तर यदि दैनिक रातमा बारम्बार पिसाब लाग्ने समस्या छ भने सुत्नुअघि पानी पिउनु वा धेरै पानी पिउनु कारण नहुन सक्छ,’ उनी भन्छन् ।

डा. भट्टराई अगाडि भन्छन्, ‘मधुमेहमा रगतमा चिनीको मात्रा बढ्छ, यसले मिर्गौलामा धेरै दबाब दिन्छ र उनीहरूले अतिरिक्त चिनीलाई पूर्ण रूपमा अवशोषित गर्न सक्दैनन् । जसकारण पिसाबको माध्यमबाट अतिरिक्त चिनी बाहिर निस्कन्छ, तर यस समयमा शरीरबाट धेरै मात्रामा पानी पनि सोस्छ । जसकारण पिसाब बढी निस्कन थाल्छ । यस्तो अवस्थामा धेरै तिर्खा लाग्दा पानीको मात्रा बढ्छ र बारम्बार पिसाब लाग्छ ।’

मधुमेहको समस्यामा राति मात्र होइन दिउँसो पनि पटक–पटक पिसाब लाग्ने हुन्छ । मुख सुख्खा हुने र बारम्बार पिसाब लाग्ने समस्या छ भने मधुमेह जाँच गराउन भट्टराई सुझाउँछन् ।

बारम्बार पिसाब लाग्ने अन्य कारण

दिउँसोको समयमा बारम्बार पिसाब नलाग्ने तर राति पिसाब लागेर बारम्बार उठ्नुपर्छ भने मुटुको समस्याले पनि हुन सक्ने डा. बस्नेत बताउँछन् । ‘मुटुले राम्ररी काम गरेको छैन भने दिनको समयमा उभिंदा-बस्दा जीउको तल्लो भागमा पानी जम्मा हुन्छ र खुट्टा सुनिन्छ,’ उनी भन्छन्, ‘राति सुतेको बेला खुट्टा र मुटुको लेभल एउटै अवस्थामा आउँछ र मुटुले कम काम गर्दा पनि जीउको पानी पम्प गर्छ र मिर्गौलाले पिसाब बनाउँछ र रातको समयमा बारम्बार पिसाब लाग्न सक्छ ।’

पुरुषहरूमा बारम्बार पिसाब लाग्नु प्रोस्टेट समस्याको संकते हुन सक्छ । उमेर बढ्दै गएपछि प्रोस्टेट ग्रन्थि बढ्दै जान्छ र राति मात्र होइन दिउँसो पनि बारम्बार पिसाब लाग्छ ।

‘युरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई) पिसाब नलीको संक्रमणका कारण पनि राति बारम्बार पिसाब लाग्ने समस्या देखा पर्छ,’ डा. भट्टराई भन्छन्, ‘मिर्गौलामा संक्रमण भएमा पनि रातको समयमा धेरै पटक पिसाब आउन सक्छ ।’

महिलालाई राति पटकपटक पिसाब लाग्नु गर्भावस्थाको सामान्य प्रारम्भिक संकेत पनि रहेको उनी बताउँछन् । बढ्दो भ्रूणले मूत्राशयमा दबाब दिंदा यो समस्या देखा पर्ने उनको भनाइ छ ।

‘राति बारम्बार पिसाब लाग्छ भने स्वास्थ्यमा केही समस्या छ कि छैन भनेर पहिचान गर्न सबैभन्दा पहिले मूत्र परीक्षण गर्नुपर्छ । त्यसबाट पहिचान नभए अल्ट्रासाउन्ड लगायतका अन्य परीक्षण गर्नुपर्छ,’ डा. भट्टराई भन्छन्, ‘परीक्षणमा केही समस्या भए नभएको पत्ता लाग्छ । समस्या देखा परे चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖