• Sunday 18th of October 2026

काठमाडौँ उपत्यकामा पनि आज हावाहुरी चल्ने सम्भावना


  • धनकुटा खबर
  • .

देशका विभिन्न स्थानसँगै आज (मंगलबार) काठमाडौँ उपत्यकामा पनि हावाहुरीको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसोपछि हावाहुरी चल्ने सम्भावना देखिएको हो।

‘मध्याह्न १२ बजेपछिदेखि साँझसम्ममा काठमाडौँ उपत्यकामा पनि हावाहुरी चल्ने सम्भावना देखिएको छ’, उनले भने, ‘त्यस्तो ठूलो त होइन, तर औसतभन्दा अलि वेगको हावाहुरी चल्ने सम्भावना देखिन्छ।’

बीचमा थोरै पानी परेकाले केही दिनयता काठमाडौँ उपत्यकामा तुवाँलो लाग्न भने छाडेको उनले बताए।

‘बिहानीपख एकछिन हुस्सु लाग्ने गरेको भए पनि अहिले दिउँसो तुवाँलो लागेको छैन’, उनले भने, ‘अहिले पारदर्शिता (भिजिबिलिटी) ५ किलोमिटरभन्दा तल झरेको छैन।’

तर पानी नपरेकाले तापक्रम देशभरसँगै काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्दो छ।

आजको बिहान मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.२ डिग्री सेल्सियस देखिएको जानकारी मौसमविद् अधिकारीले दिए।

यस्तै आज उपत्यकाको अधिकतम तापक्रम भने ३२ देखि ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

सोमबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३३.१ डिग्री सेल्सियस थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖