• Wednesday 7th of October 2026

मिर्गौला बिग्रिनु भनेको के हो र कस्तो लक्षण देखिन्छ ?


  • धनकुटा खबर
  • .

आजभोली मानिसहरुको बदलिँदो जीवनशैली र खानपानमा गलत बानीको कारण धेरैलाई मिर्गोलाको रोग हुन थालेको छ । यसमध्ये मिर्गौला फेल प्रमुख समस्या हो। हाम्रो देशमा मिर्गौला रोगीको संख्या दैनिक रुपमा बढीरहेको छ । मिर्गौला रोगको कारण वर्षेनी हजारौंको मृत्यु हुने गरेको छ ।

मिर्गौला हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । मिर्गौलाले शरीरको रगत शुद्धीकरण गर्ने, शरिरबाट अनावश्यक चीजलाई फाल्ने काम गर्छ । रगतमा हुने विषाक्त पदार्थलाई फिल्टर गर्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्ने लगायत काम मिर्गौलाले गर्छ ।

मिर्गौला बिग्रिनु भनेको के हो ?

जब मिर्गौलाले आफ्नो काम राम्रोसँग गर्न सक्दैन, तब शरीरमा धेरै किसिमका समस्या आउन थाल्छन् । मृर्गौलाले काम गर्न छोड्नु भनेकै मिर्गौला फेल हुनु हो। मिर्गौला विग्रिनु लाई अल्पकालिन र दिर्घकालिन दुई तरिकामा हेरिन्छ । अल्पकालिन भन्नाले कुनै पनि मिर्गौलाको समस्या भएको तिन महिना ननागेको वा पहिलो चोटि देखिएको समस्या जसलाई निको बनाउन सकिन्छ त्यो अल्पकालिन समस्या भनिन्छ । तर समस्या तिन महिना भन्दा बढि भए छ क्रिएटिनिन बढि रहेछ, मिर्गौला साईज घटि रहेछ, भने त्यस लाई दिर्घकालिन समस्या भनिन्छ ।

मिर्गौला बिग्रिनुको कारण ?

मिर्गौला बिग्रिने धेरै कारण हुन्छन् । जसमा मिर्गौला बिग्रिनुको प्रमुख कारण मधुमेह (सुगर ) हो ।

मधुमेह,
उच्च रक्तचाप,
मिर्गौलाको आन्त्रिक रोग
मिर्गौलामा संक्रमण भएमा,
मिर्गौलामा पत्थरी,
जथाभावी रुपमा नदुख्ने औषधि सेवन
यदि वंशाण्गत कुनै रोग छ वा परिवारमा बुवा आमाको मधुमेहका कारण मिर्गौला विग्रिने भएको छ भने छोरा छोरिमा मिर्गौला विग्रिने समस्या हुन्छ । त्यसैले समय समयमा मधुमेह जाँच गराउनु पर्छ ।

मिर्गौला रोगका लक्षण

थकाई धेरै लाग्ने
एका एक उच्च रक्तचाप हुनु
खुटा धेरै सुनिनु
स्वाँस्वाँ बढने
हड्डीहरु दुख्ने
फिँजयुक्त र रगत मिसिएको पिसाव आउने
पिसाव रोकिनु
एनेमिया बढ्ने
मिर्गौला कमजोर भएका लक्षण धेरै कडा नहुने भएकाले धेरै जना मिर्गौला खराब भएपछि मात्र अस्पताल पुग्छन् । त्यसैले माथिका कुनै लक्षण देखिए तुरुनतै अस्पताल गएर जाँच गर्ने ताकी बेलैमा यसको उपचार सम्भव होस् ।

उपचार

दिर्घकालिन मिर्गौला रोगिको संसार भरिमै राम्रो उपचार भनेको मिर्गौला प्रत्यारोपण हो । दुवै मिर्गौला फेल भएको अवस्थामा बिरामीसँग जीवनभर डायलिसिस गरेर बस्ने या मिर्गौला प्रत्यारोपण गर्ने विकल्प मात्र बाँकी रहन्छ। सबै उपायलाई हेर्दा मिर्गौला प्रत्यारोपण उत्कृष्ट देखिन्छ। तर, मिर्गौला प्रत्यारोपण बिरामीको सबै समस्याको हल भने होइन यसपछि पनि धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ । तर प्रत्यारोपणका लागि मिर्गौला पाउन गह्रो हुने भएकाले डायलासिस राम्रो तरिकाले गर्ने हो भने राम्रो नै हुन्छ ।
(न्यूरो कार्डियो एण्ड मल्टिस्पेशालिटी हस्पिटलका डीएम नेफ्रोलोजी डा निशान्त भुर्तेलसँग गरेको कुराकानीमा आधारित् )

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖