• Wednesday 7th of October 2026

दासताको प्रदर्शन : यसरी एलिनालाई श्रीमानले २ मिनेटसम्म खुट्टा ढोगाएको भिडियोले सामाजिक सञ्जालमा छेडियो बहस


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका एलिना चौहानले हालै आफ्नो प्रेमी विष्णु सापकोटासँग धूमधामले विवाह गरिन् । उनको विवाहसँग सम्बन्धित भिडिओहरूले टिकटक र युट्युब राम्रैसँग रंगिएको छ । आफूले रोजेको जीवनसाथी पाउँदा दुवै जना निकै हर्षित देखिन्छन् ।

विवाहपछिको एउटा भिडिओ भने अहिले सामाजिक सञ्जालमा चर्चा र बहसको विषय बनिरहेको छ । भिडिओमा एलिनाले आफ्नो श्रीमानको खुट्टा ढोगेकी छन् तर, यो सामान्य ढोगाइ छैन । करिब २ मिनेटसम्म एलिना श्रीमानको खुट्टामा घोप्टो परिरहेको भिडियोमा देख्न सकिन्छ ।

विवाहमा र विवाहपश्चात् श्रीमतीले श्रीमानको खुट्टा ढोग्ने परम्परागत रिवाज नै हो । यसरी ढोग्दा श्रीमान् प्रसन्न भएर श्रीमतीलाई पैसा दिने पुरानो प्रचलन समेत छ । थुप्रै विवाहित जोडीले यो प्रचलन अहिले पनि अनुसरण गर्छन् । मागे जति पैसा नपाउन्जेल दुलहीले ढोगिरहने दृश्य पनि नौलो होइन । यो पैसाका लागि भन्दा पनि रमाइलोका लागि हो ।

यद्यपि, महिलावादी कोणबाट भने श्रीमतीले श्रीमानको खुट्टा ढोग्ने प्रथामाथि नै आलोचना हुँदै आइरहेको छ । महिलावादीहरू यसलाई पितृसत्तावादी चिन्तनको उपज मान्ने गर्छन् । त्यसमाथि एलिनाजस्तो सेलिब्रिटीले श्रीमानको खुट्टामा पसारिएर पैसाका लागि हात थापिरहेको दृश्य धेरैले पचाउन सकिरहेका छैनन् । कतिले यसलाई नौटङ्कीको संज्ञा दिएका छन् त कतिले कलाहीन पुरुषत्व प्रदर्शनको । केहीले चाहिँ श्रीमान् र श्रीमतीको निजी चाहनामा गरिएको कुरालाई इस्यू बनाइरहनु नपर्ने भन्दै बचाउ पनि गरेका छन् ।

महिलावादी अभियन्ता आरती चटौतले फेसबुकमा लेखेको टिप्पणीले धेरैको समर्थन पाएको छ । उनले यसलाई ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्रको नमूना दृश्य’ को संज्ञा दिएकी छन् ।

उनको टिप्पणी जस्ताको तस्तै :

समाजवाद उन्मुख समावेशी लोकतन्त्रको

यो ‘नमूना दृश्य’ !!

हालैको एक भिडियोमा एलिना चौहानले विष्णुको खुट्टा समातेर निरन्तर ढोगिरहेको र त्यसबापत हात थापेर ‘मागेको’ र विष्णुले त्यो ढोगको ‘मूल्य’ पाँच रूपैयाँबाट शुरू गरी, दश, बीस गर्दै दिएको‘ उता एलिना निरन्तर पाउमा निधार राखिरहेको, विष्णुले त्यस्लाई मजाक बनाइरहेको दृश्य समानतामा विश्वास राख्ने जोकोहीलाई पनि आपत्तिजनक लाग्नुपर्छ !! (हामीले सो भिडियो पुन: प्रयोग गर्न उचित ठानेनौ )

नव विवाहित यो जोडीमा हामी नेपालकी चर्चित गायिका एलिना चौहानलाई चिन्छौ, अनि उनकै कारणले विष्णु सापकोटालाई पनि चिन्यौ !!

चर्चामा रहेको यिनको विवाह पछिको एक भिडियोले हाम्रो समाजलाई ठुलो चुनौती दिएको छ !! यहाँ यो प्रसंगलाई ‘रमिता’का रूपमा हाँसो मजाकका साथ गरिँदै छ ! तर यो रमाइलो पटक्कै होइन। यो दृश्य पितृ सत्ताले महिलालाई दास नै मान्छ र आजको समाजवाद उन्मुख समावेशी लोकतन्त्रमा समेत यो कुसंस्कार, शिक्षित भनिएकामा समेत उस्तै गरी छ भन्ने दरिलो उदाहरण हो ।अनि हरेक पक्षबाट महिलाको हैसियत नै सशक्त भए पनि पुरुष मात्र पुरुष भएको कारणले ‘भगवान्’ नै हुन्छ भन्ने परम्परागत गलत सोच कहीँ कसैका लागी थप सिकाई नबनोस्, यो हाम्रो सरोकारको विषय बन्नुपर्छ !!

सह जीवनको सुरुवात सहअस्तित्वको स्वीकारोक्तिबाट हुनुपर्छ, असमान व्यवहारबाट हैन ! जीवनसाथीमा कोही मालिक र कोही दासीको रूपमा हुनुहुँदैन !

कुनै पनि सम्बन्ध तब सही र दिगो हुन्छ जब एक अर्काप्रतिको प्रेमसँगै परस्पर सम्मान र विश्वास हुन्छ, सहअस्तित्वको कसीमा !

स्मरण रहोस् यो व्यक्तिगत सवाल हैन, हामी बिच अझै बाचेको कुसंस्कार हो जस विरुद्ध हामी सबै बोल्नु र सचेत हुन आवश्यक छ !! मानिस—मानिस बिच जात, वर्ग, लिङ्ग, वर्ण वा अन्य कुनै पनि कारणले विभेद रहे सम्म कुनै पनि समाज र राष्ट्र सभ्य र समृद्धि हुनै सक्दैन !

हाम्रो संविधान र कानूनले यस्ता हरेक असमानतालाई बन्देज गरिसकेको छ ! अब व्यवहारमा ल्याउने जिम्मा हाम्रो हो ! यो रूपान्तरणमा समाजमा स्थापित व्यक्तित्वहरूको उत्तरदायित्व अझ बढी हुन्छ भन्ने पनि हामी एक पटक सम्झिन र सम्झाउन चाहन्छौ !

यो कुप्रथा कै समर्थनमा पनि बिचार आउनेछन् भन्ने हामीलाई हेक्का छ ! यो पनि समाजमा शिक्षासँगै कति चेतना बढेछ भन्ने मापनको कडी हुनेछ र परिवर्तनका लागी अझै लाग्न प्रेरित गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖