• Sunday 18th of October 2026

रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार


  • धनकुटा खबर
  • .

काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएको दुई वटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएको कारण नेपालले उपहार स्वरूप दिइने रूद्रकली र खगेन्द्रप्रसाद गरी दुई हात्ती तत्काल कतार नजाने भएका हुन् ।

कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भएपनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँग त्यो हात्ती नगएको छ । आज सोल्टी होटलमा भएको दुई पक्षीय वार्तामा हात्ती उपहारको सम्झौता एजेण्डा पनि बनेको थिएन ।

वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले कतारको तर्फबाट तयारी पूर्ण नभएको कारण आजैको दिन पठाउन नमिलेको बताए । उनले भने, ‘हामीले पठाउनका लागि पुरै तयारी गरेका छौँ तर उताबाट प्रक्रिया पुरा नभएको कारण पठाउन नमिलेको हो ।’

हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । सो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ । कतारलाई हात्ती दिने विषयमा साइटिसले पनि सिफारिस गर्नुपर्छ । वन मन्त्रालयका अनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । साईटीसबाट कतारले सिफारिस ल्याउनुपर्ने भए पनि त्यसबारे कुनै पहल देखिएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖