काठमाडौं । गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाको विवाह र विवाहपछिका तस्वीर तथा भिडियोले यतिबेला सामाजिक सञ्जाल गर्माएको छ । ती भिडियोमा यी दुवै प्रफुल्ल देखिन्छन् ।
विवाहपछिको एक भिडियोले भने सामाजिक सञ्जाल गर्माएको मात्र छैन, बहस नै छेडिएको छ । उक्त भिडियोमा एलिनाले विष्णुको खुट्टा ढोगेकी छन् । दुई मिनेटभन्दा बढी समय उनले विष्णुको खुट्टा ढोगेको विषय सामान्य पनि लाग्दैन ।
एलिनाले लामै समय खुट्टा ढोगेकी छन् र विष्णुले उनलाई पैसा दिइरहेको देखिन्छ । एलिनाले ढोग्न नछोडेपछि हाँस्दै पैसा थपिरहेका छन् । मागे जति पैसा नदिएसम्म एलिनाले खुटटा ढोगिरहन्छिन् ।
अहिले पनि नेपाली समाजमा यो शैली प्रचलनमा समेत छ । त्यसलाई यी दुईले पछ्याएको पनि देखिन्छ । तर खुट्टा ढोगाइको यो शैलीलाई लिएर सामाजिक सञ्जालमा बहस छेडिएको छ । यो बहसको सुरुवात चाहिं पत्रकार तथा महिला अभियन्ता आरती चटौतबाट सुरु भयो ।
उनले एलिनाले खुट्टा ढोगेको भिडियोको स्क्रिनसट फेसबुकमा सेयर गर्दै ‘समाजवाद उन्मुख समावेशी लोकतन्त्रको यो नमुना दृश्य’ भन्दै कटाक्ष गरेकी छन् ।
उनी लेख्छिन्, ‘विष्णुले त्यो ढोगको ‘मूल्य’ पाँच रूपैयाँबाट सुरु गरी, दश, बीस गर्दै दिएको’ उता एलिना निरन्तर पाउमा निधार राखिरहेको, विष्णुले त्यसलाई मजाक बनाइरहेको दृश्य समानतामा विश्वास राख्ने जोकोहीलाई पनि आपत्तिजनक लाग्नुपर्छ ।’
