• Sunday 18th of October 2026

नेपालबाट कतार पठाइएको छैन हात्ती तर भाइरल भइरहेको छ गलत भिडियो


  • धनकुटा खबर
  • .

काठमाडौं । अहिले सामाजिक सन्जालमा हात्ती ट्रकमा चढेको एउटा भिडियो भाइरल छ । त्यो भिडियोमा हात्ती एउटा टुलमा टेकेर ट्रकको ट्रलीमा उक्लिएको देखिन्छ ।

धेरै सामाजिक सन्जाल प्रयोगकर्ताले त्यो भिडियोलाई नेपालबाट कतार पठाउन लागिएको हात्ती यही हो भन्दै सेयर गरिरहेका छन् ।

तर त्यो सत्य भने होइन । मंगलबार काठमाडौं आएका कतारका राजा शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएलगत्तै उनीसँगै हात्ती पनि पठाइयो भनेर सामाजिक सन्जालमा गलत प्रचार भइरहेको छ ।

जबकी कतार पठाउने भनिएका हात्ती नेपालमै छन् । केही अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया पूरा गर्न बाँकी नै भएकाले ती हात्तीलाई कतार पठाउन केही दिन अझै लाग्ने छ ।

वन तथा वातावरण मन्त्रायका प्रवक्ता बद्रिराज ढुंगानाले प्राविधिक र प्रशासनिक विषय मिलाउनुपर्ने भएकाले नेपालका हात्ती कतार पठाउन समय लाग्ने बताए ।

दुर्लभ वन्यजन्यु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) अनुसार त्यसको ओसारपसारका लागि सम्झौता र साइटिस अनुमति चाहिन्छ । तर हात्ती लेन–देन गर्नका लागि साइटिस अनुमतिपत्र आइसकेको छैन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत कुमार राईले अन्तर्राष्ट्रिय सन्धि सम्झौताका प्रक्रिया पूरा नभएकाले कतारका राजासँगै नेपालबाट हात्तीहरु नपठाएको जानकारी दिए । ‘हात्ती संरक्षण कूटनीति अन्तर्गत नेपालले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय सरकारबाट त भयो तर त्यसका सबै कानुनी र प्रशासनिक प्रक्रिया मिलाउन बाँकी भएकाले कतारका राजासँगै हात्ती पठाइएको छैन,’ मन्त्रालयका प्रवक्ता राईले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖