• Wednesday 7th of October 2026

के वीर्य स्खलनपछिको यौन सम्पर्कमा गर्भ बस्छ ?


  • धनकुटा खबर
  • .

म २० वर्षीया युवती हुँ । मेरो केटा साथीसँग यौन सम्पर्क भएको थियो । हामीले कन्डम प्रयोग गरेका थियौं र पछि वीर्य स्खलन भईसकेपछि कन्डम बिना यौन सम्पर्क गर्‍यौं, तर अहिले मेरो महिनावारी भएको छैन । महिनावारीको डेट पनि कटिसक्यो । मलाई डर लागिरहेको छ, कतै मेरो गर्भ त बसेन ? वीर्य निस्किसकेर यौन सम्पर्क गर्दा पनि गर्भ बस्छ ?यौन सम्पर्क र गर्भ रहने सम्भावना – कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं त्यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । पहिलो कुरा त शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय हुनु जरुरी छ । महिलामा डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।

डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएका महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै बढी हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने शुक्रकीट महिलाको प्रजनन अङ्गभित्र ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ । त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारण हुन सक्ने समय मानिन्छ, तर महिनावारी ठिक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही फरक पर्न सक्छ ।

वीर्य स्खलनपछि यौनसम्पर्क गर्दा पनि गर्भ रहन्छ ? – तपाईंलाई थाहै होला कन्डम एउटा प्रभावकारी गर्भ्निरोधको साधन हो, तर यसको प्रयोग सही तथा नियमित तरिकाले गर्नुपर्छ । सामान्य रूपमा कन्डम प्रयोग गर्दा यसको प्रभावकारिता यस्तै ८२ प्रतिशत हुन्छ, अर्थात् १ सय जना महिलाले यसलाई प्रयोग गर्दा एक वर्षमा सालाखाला यस्तै १८ जना महिला गर्भवती हुन सक्छन् । यसको अर्थ के पनि हो भने कन्डम नै प्रयोग गर्दा पनि एक हदसम्म गर्भ रहन सक्छ ।
अब तपाईंको मूल प्रश्नमा आऔं । तपाईंले शुक्रकीटको कुरा गर्नुभएको छ, तर लिङ्गबाट निस्कने सेतो पदार्थ नै वीर्य (कझभल) हो, त्यसैले यसलाई वीर्य स्खलन भनिन्छ । यही वीर्यमै शुक्रकीट (कउभचm) हुन्छन् । तपाईंले वीर्य स्खलन भैसकेपछि कन्डम फुकाल्नासाथ यौनसम्पर्क गरेको हो कि ?

त्यसपछि लिङ्गलाई पानीले पखालियो कि पखालिएन वा त्यसपछिको यौनसम्पर्क तुरुन्तै भएको हो कि केही घण्टापछि भएको हो ? वीर्य स्खलनपछि फेरि यौनसम्पर्क गर्नुअघि पिसाब फेरियो कि फेरिएन ? जस्ता कतिपय कुराका आधारमा गर्भ रहनेरनरहने सम्भावना बढी वा कम हुन सक्छ ।

वीर्य स्खलनपछि पिसाब फेर्दा भने मूत्रनलीमा भएका शुक्रकीट पखालिने भएकाले गर्भको सम्भावना कम हुन्छ । कुरा जे भए पनि वीर्य स्खलन भैसकेपछि मूत्रनलीमा केही शुक्रकीट हुन सक्छन् र त्यसले गर्भ बसाउन सक्छ । तपाईंहरूले यौनसम्पर्कलाई निरन्तरता दिनुको अर्थ तपाईंको केटासाथीमा यौन उत्तेजना कायमै थियो भन्ने बुझिन्छ । यस्तो स्थितिमा वीर्य स्खलनअघि आउने रसमा पनि शुक्रकीट हुन सक्छन् भन्ने कुरा बिर्सनु हुँदैन ।
अर्को कुरा, यसरी यौनसम्पर्क हुँदा तपाईं महिनावारी चक्रको कुन समयमा हुनुहुन्थ्यो भन्ने कुनै जानकारी दिनुभएको छैन । यदि उक्त घटना डिम्ब निष्कासन हुने बेलातिर भएको भए गर्भ रहने सम्भावना बढी हुन्छ भने महिनावारी हुने वा भएको बेलातिर भए न्यून ।

महिनावारी रोकिनुको अर्थ के होला ?

यौनसम्पर्क राख्ने युवतीमा महिनावारी रोकिनुको मुख्य कारण गर्भ रहनु हो । तपाईंलाई थाहै होला, गर्भ रहेपछि महिलाको शरीरमा केही परिवर्तन आउँछन् । यो परिवर्तनको पहिचान गरेर गर्भ रहेरनरहेको छुट्टयाइन्छ । छोटकरीमा भन्ने हो भने महिनावारी नहुने, स्तन छाम्दा हल्का रूपमा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मनोदशामा परिवर्तन, थकाइ लागेजस्तो हुने, खाने बानी वा रुचिमा परिवर्तन तथा छिटोछिटो पिसाब लाग्ने हुन सक्छ ।

त्यसै गरी पछि स्तन अझै ठूलो हुने, स्तनको मुन्टो गाढा रंगको हुने, योनिबाट सेतो पानी बग्ने, पेट ठूलो हुनुका साथै बच्चा चलेजस्तो लक्षण देखिन्छ । यस्ता लक्षणमध्ये धेरैजसो लक्षण आफूमा भए गर्भ रहेको भन्न सकिने स्थिति हुन्छ, तैपनि कतिपय परिस्थिति शारीरिक जाँच गरेर मात्र गर्भ रहेरनरहेको (स्पष्ट रूपमा) निर्धारण गरिन्छ । यस्ता लक्षणका आधारमा आफैंले यी कुराको निक्र्यौल गर्न बढी समय पर्खनुपर्ने हुन्छ, जुन कुरा तपाईंका लागि अहिले त्यति उपयुक्त नहोला ।

के गर्नुपर्ला ? – तपाईंले सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको गर्भ रहे–नरहेको पत्ता लगाउने हो । गर्भ रहेको शंका भए पिसाब परीक्षण गरेरसजिलैसँग गर्भ रहेरनरहेको छुट्टयाउन सकिन्छ । यस किसिमको परीक्षण विधि सजिलो भएकाले धेरैजसो ठाउँमा उपलब्ध छ । तपाईंले आफैंले पिसाब जाँच्न सक्नुहुने ‘कीट’ पनि उपलब्ध हुन्छ ।

अब कुरा आउँछ, गर्भलाई निरन्तरता दिने कि नदिने ? गर्भलाई निरन्तरता दिने हो भने तपाईं र तपाईंको साथीले विवाह गर्न सक्नुहुन्छ । यसका लागि घरपरिवारमा सल्लाह गर्नु बेस हुन्छ । गर्भ रहेको स्थितिमा त्यसलाई निरन्तरता नदिने हो भने त्यसका लागि पनि केही उपाय छन् । औषधी खाएर वा औजारको प्रयोगबाट यसो गर्न सकिन्छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृतिप्राप्त व्यक्ति तथा केन्द्रमा सेवा प्राप्त गर्न सकिन्छ ।

यदि गर्भ रहेको स्थिति होइन भने र नियमित यौनसम्पर्क हुने स्थिति छ भने तपाईंले गर्भ्निरोधको प्रभावकारी उपाय अपनाउन सक्नुहुन्छ । तपाईंले खाने चक्की, इम्प्लान्ट, कपर–टीमध्ये आफूलाई सुहाउँदो जुनसुकैमध्ये कुनै एक साधन प्रयोग गर्न सक्नुहुन्छ । कन्डम प्रयोग गर्दा पनि त्यसलाई सही तरिकाले प्रयोग गर्नु आवश्यक छ भन्ने त बुझि नै सक्न ुभएको होला ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖