• Wednesday 7th of October 2026

कतारबाट हमासको हेडक्वार्टर सार्न पश्चिमा दबाब: के गर्लान् अमिर अल थानी ?


  • धनकुटा खबर
  • .

इजरायलसँगको युद्धविराम असफल भएपछि आफ्नो हेडक्वार्टर कतारबाट अन्त सार्नेबारे हमासभित्र तीव्र छलफल चलिरहेको पश्चिमा सञ्चार माध्यमहरूले जनाएका छन् ।कतार र हमास दुवैले औपचारिकरूपमा हेडक्वार्टर अन्त सार्नेबारे कुनै योजना नरहेको दाबी गरेता पनि कतारले पश्चिमा र अन्य अरब देशहरूबाट तीव्र दबाबको सामना गरिरहेको छ ।

हमास र इजरायलबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको दाबी गरेको कतारमाथि हमासलाई साथ र समर्थन दिएको आरोप पश्चिमा देशहरूले लगाइरहेका छन् ।

कतारका अमिर तामिम बिन हमिद अल थानीले हमासको मुख्य कार्यालयलाई आफ्नो देशबाट हटाउनेबारे के सोचिरहेका छन् भन्नेबारे बीबीसीले विस्तृत समाचार सामग्री प्रसारण गरेको छ ।

के कतारमा हमासको उपस्थितिको पछाडि अमेरिका थियो?
हमासले सन् २०१२ देखि कतारमा आफ्नो राजनीतिक कार्यालय खोलेर राखेको छ । त्यतिबेला हमासका राजनीतिक ब्यूरो प्रमुख खालेद मेशाल सिरियाली राष्ट्रपति बसर अल असदविरुद्ध युद्ध लडिरहेको सिरियाली प्रतिपक्षी हतियारधारी समूहको समर्थनमा कतार आएका थिए ।

सन् २०१७ मा राजनीतिक ब्यूरो प्रमुख रहेका मेशालको स्थानमा आएका इस्माइल हानिया हाल कतारमा बस्दै आएका छन् ।

अमेरिकी र कतारी अधिकारीहरूका अनुसार कतारले अमेरिकाको अनुरोधमा आफ्नो देशमा हमासको राजनीतिक कार्यालय रहन दिएको मात्र छैन, आर्थिक सहयोग पनि गर्दै आएको छ ।

कतारमा हमासको नेतृत्वलाई रहन दिएर अमेरिकाले प्यालेस्टाइन र इजरायलबीच बढ्दो द्वन्द्वलाई कम गर्न अप्रत्यक्ष संवाद खुला राख्न चाहेको थियो ।

इस्लामिक समूहहरूको अनुसन्धान गरिरहेका अम्मानको इन्स्टिच्युट अफ पोलिटिक्स एन्ड सोसाइटीसँग सम्बद्ध विज्ञ हसन अबु हानियाले अमेरिकाको अनुरोधमा हमासको कार्यालय कतारमा खोलिएको दाबी गरे ।

अमेरिकाको निर्देशनमा अफगान सरकार र तालिबानबीच मध्यस्थता गरेजस्तै इजरायल-हमासबीच पनि कतारले मध्यस्थता गर्न सक्ने अमेरिकाको बुझाइ रहेको हानियाको भनाइ छ ।

कतारमाथि दबाब

गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा हमासविरुद्ध अपरेशन चलाइरहेको छ । युद्धमा कतारले दुई पक्षबीचको वार्तामा महत्वपूर्ण भूमिका खेलेको छ ।

गत वर्ष नोभेम्बरमा कतारको सहयोगमा इजरायल र हमासबीच एक साता लामो युद्धविराम घोषणा भएको थियो र यस अवधिमा हमासले ८१ इजरायली बन्धकहरूलाई रिहा गरेको थियो । बदलामा इजरायली जेलमा रहेका २ सय ८० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरियो ।

तर, कुनै पनि वार्ता युद्धविराम कायम राख्ने तहमा पुग्न सकेन । अहिले मध्यस्थकर्ताको भूमिका खेल्न नसकेको भन्दै अमेरिकाले कतारको आलोचना गरिरहेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कतारले हमासलाई आर्थिक सहयोग गरिरहेको समेत आरोप लगाएका छन् । गत जनवरीको अन्त्यमा उनले कतारलाई इजरायली बन्धकहरूलाई रिहा गर्न हमासलाई दबाब दिन आग्रह गरेका थिए ।

कतारका विदेशमन्त्रीले नेतान्याहुको भनाइलाई अपमानजनक भन्दै इजरायलले युद्ध लम्ब्याउने प्रयास गरिरहेको आरोप लगाएका थिए ।

उनले इजरायल-हमास युद्ध अन्त्य गर्न र मध्यस्थताका लागि थप प्रयास गर्न कतार प्रतिबद्ध रहेकोमा जोड दिए ।

गत हप्ता अमेरिकास्थित कतारी दूतावासले डेमोक्रेटिक सांसद स्टेनी होयरको भनाइप्रति असन्तुष्टि व्यक्त गरेको थियो ।

आफ्नो विज्ञप्तिमा अमेरिकी सांसदले कतारले हमासलाई दबाब दिन नचाहेको आरोप लगाउँदै कतारले हमासलाई दिएको आर्थिक सहयोग नरोके अमेरिकाले कतारसँगको सम्बन्धमा पुनर्विचार गर्नुपर्ने माग गरेका थिए ।

इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिकामा रहँदा खेपेको आलोचनाप्रति कतारले दुःख व्यक्त गरेको छ ।

गत अप्रिल १७ मा कतारका विदेशमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले गाजा संकटमा कतारले आफ्नो हस्तक्षेपको मूल्यांकन गरिरहेको बताएका थिए ।

२३ अप्रिलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले पनि कतारले आफ्नो मध्यस्थताको भूमिकाबारे छलफल गरिरहेको दोहोर्‍याए ।

उनले मध्यस्थकर्ताको भूमिका कुनै पनि पक्षलाई दबाब दिनुभन्दा पनि सबै पक्षसँग मिलेर काम गर्नु रहेकोमा जोड दिए ।

के कतारले हमासको कार्यालय बन्द गर्दैछ?

शनिबार अमेरिकी वाल स्ट्रिट जर्नलले केही अधिकारीहरूलाई उद्धृत गर्दै हमासको राजनीतिक नेतृत्वले कतारबाट आफ्नो कार्यालय सार्ने सम्भावनाबारे विचार गरिरहेको दाबी गरेको थियो ।

उक्त दाबीमा हमासले ओमान र टर्कीएलाई नयाँ ठेगाना बनाउनेबारे सोचिरहेको बताइएको छ । हमासले यी दुई देशसँग निरन्तर सम्पर्क गरिरहेको वाल स्ट्रिट जर्नलमा लेखिएको छ ।

हमासका अधिकारीहरूले यसबारेमा केही बोलेका छैनन् । तर कतारको विदेश मन्त्रालयका प्रवक्ताले आफूले युद्धको मध्यस्थता गरिरहने बेलासम्म हमासको कार्यालय कतारमै रहँदा फाइदा हुने बताए । यद्यपि उनले हमासले आफ्नो राजनीतिक कार्यालय आफ्नो देशबाट अन्यत्र सार्न सक्ने भनाइलाई पूर्ण रूपमा अस्वीकार भने गरेनन् ।

हालै हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाले टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग इस्तानबुलमा भेट गरेका छन् । दुवैबीच करिब तीन घण्टा कुराकानी भएको थियो ।

कतारको विदेश मन्त्रालयका प्रवक्तालाई इजरायल र हमासबीचको मध्यस्थतामा टर्कीएको भूमिकाबारे प्रश्न गरिएको थियो ।

उनले टर्कीए गाजामा युद्ध रोक्न कतारले गरिरहेको प्रयासलाई समर्थन गर्ने सबैभन्दा महत्त्वपूर्ण देश रहेको जवाफ दिएका थिए ।

केही मिडिया रिपोर्टमा अल्जेरियाको नाम पनि लिइएको छ । फ्रान्सेली अखबार ले मोन्डेले एउटा समाचार प्रतिवेदनमा गाजा संकट अन्त्य गर्न गाजा पट्टीमा अरब शान्ति सेना पठाउने र हमास नेताहरूलाई अल्जेरियामा निर्वासन गर्ने योजना रहेको दाबी गरेको छ ।

यसबाहेक हमासको सम्भावित गन्तव्यदेशका रूपमा इरान, लेबनान, सिरिया र यमनको नाम पनि लिइएको छ ।

हमासले इरानमा कार्यालय खोल्ने सम्भावना कति छ ?

हसन अबु हानियाले इरानमा कार्यालय खोल्नुलाई हमासले एउटा विकल्पको रूपमा लिएको विश्वास व्यक्त गरेका छन् ।

उनी भन्छन्, ‘टर्कीए परिस्थिति द्रुत रूपमा परिवर्तन हुने देश हो । हमासले त्यहाँ आफ्नो नेतृत्वको स्थायी उपस्थिति सुनिश्चित गर्न धेरै गाह्रो छ । उनीहरूले त्यहाँ आंशिक उपस्थिति कायम राख्न सक्छन् । अल्जेरियामा यस्तै छ । फ्रान्सले गरेको प्रस्ताव अव्यावहारिक छ । र यस मामिलामा अल्जेरियाको अडान स्पष्ट छैन । मुख्य विकल्प इरान हो ।’

उनका अनुसार इरान एक मात्र देश हो जसले हमासको नेतृत्वलाई आश्रय दिन तयार हुन सक्छ ।

यसबाहेक अन्य कुनै पनि विकल्प अव्यावहारिक हुनेछ, किनभने हमासलाई इजरायल, अमेरिका र युरोपेली संघले ‘आतंकवादी संगठन’ घोषणा गरिसकेको छ।

हमासले इरानमा शरण पाए थप अन्य जटिलताहरू उत्पन्न हुन सक्छन् ।

‘अन्तर्राष्ट्रिय संकट समूह’का मध्यपूर्व र उत्तर अफ्रिका कार्यक्रम निर्देशक जोस्ट हिल्टरम्यान हसन अबु हानियासँग सहमत छन् ।

उनी भन्छन्, ‘यदि हमासलाई कतार छोड्न बाध्य पारियो भने नयाँ गन्तव्य देश खोज्न समस्या हुनेछ, किनभने कुनै पनि देशले आश्रय दिनेबारे सोच्ने हो भने भविष्यमा उसमाथि प्रतिबन्ध लाग्न सक्ने जोखिम छ ।’

हमासका लागि इरान उपयुक्त देश भए पनि अहिले कतारबाट हमास नेताहरूलाई निष्कासन गर्न कुनै गम्भीर छलफल भइरहेको कुरा हनिया अस्वीकार गर्छन् ।

उनले बीबीसीसँग भने, ‘जे भइरहेको छ, त्यो सहमतिमा पुग्न दबाब दिने प्रयास मात्र हो । योभन्दा बढी र कम केही छैन ।’

‘मलाई लाग्छ कतारले पनि यो मुद्दालाई खासै महत्त्व दिएको छैन,’ उनले भने, ‘कतारले सबैलाई दिन खोजेको सन्देश भनेको यदि हमासको राजनीतिक ब्यूरोका नेताहरूले कतार भूमि छोड्न बाध्य भए युरोप र अमेरिकासँग कुराकानी गर्ने विकल्प थप सीमित हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖