• Sunday 18th of October 2026

तीन वर्षीया नाबालिकाको हत्या, आमाछोरी पक्राउ


  • धनकुटा खबर
  • .

जनकपुरधाम । सिरहामा तीन वर्षीया नाबालिकाको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन् । सोनावतीका श्रीमान् धनिकलाल यादव भने फरार छन् ।

उनीहरुले छिमेकी तीन वर्षिया नाबालिककाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरूले घर अगाडि खेलिरहेकी बालिकालाई बिस्कुट दिई आफ्नो घरभित्र लगेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेकाे छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् ।

खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो ।

मसुराको झ्याङ्टाभित्र कालो रंगको बोराभित्र बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा परिवारसँगको रिसइबी साध्न धनिकलालको परिवारले रमेशको छोरीको हत्या गरेको खुलेको डीएसपी सापकोटाको भनाइ छ ।

उनका अनुसार करिब एक वर्षदेखि छिमेकी रमेश र धनिकलालको परिवारबीच झैझगडा हुने गरेको थियो । त्यही रिसइबीका कारण धनिकलालको परिवारले हत्या गरेको खुलेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖