• Monday 19th of October 2026

अत्यधिक गर्मी, पानी नपाएर मर्न थाले जनावर


  • धनकुटा खबर
  • .

अत्यधिक गर्मी र सुख्खाको प्रभाव वन्यजन्तु तथा चराचुरंगीमाथि पर्न थालेको छ। लामो समयदेखि रहेको खडेरीले रौतहटको मुख्य नदीमध्येको एक बकैया खोला सुकिसकेको छ।

बकैया खोलासहित अन्य सानातिना खोलाखोल्सीहरु सुक्न थालेपछि वन्यजन्तु तथा चराचुरुंगीलाई बाँच्न मुस्किल भएको छ। दिउँसो ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुग्न थालेपछि जंगली चौपाया र चराहरु पानी खान नपाएरै गर्मीले मर्न थालेका छन्।

गर्मीका कारण जिल्लाको देवाही गोनाही नगरपालिका-२ स्थित एक जंगली चौपाया नीलगाई मृत अवस्था फेला परेको स्थानीय कमल यादवले बताए।

प्राकृतिक खोला नदी सुकिसकेका कारण जंगली जनावर, पशुपंक्षी पानी अभावले मर्न थालेको यादवले सुनाए।

लाल बकैया नदिको दायाँ बायाँ करिब ५/५ किलो मिटर दुवै तर्फ दुरीमा निजी तथा सार्वजनिक पोखरी नरहेका कारण जंगली तथा चौपायालाई पानीको समस्या भएको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए।

पानीको समस्या मधेशमै बढ्दै गएको बताउँदै नगर प्रमुख साहले यस्तै गर्मी रही रहे प्राय जसो हैन्डपाइप सुक्ने र मानिसलाई समेत पानीको समस्या हुने साहको भनाइ छ।

चौपाया तथा जंगली जनावर चराचुरुङ्गीलाई आफूले स्थानीय स्तरबाट जन श्रमदान गरि सुकी सकेको लाल बकैया नदिमा पोखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पूर्व नगर प्रमुख धर्मेन्द्र पटेलको भनाइ छ। -मदन ठाकुर/नागरिक न्यूजबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖