• Monday 19th of October 2026

घरमा आगलागी हुँदा वृद्ध श्रीमान श्रीमतीको मृत्यु


  • धनकुटा खबर
  • .

धादिङको थाक्रे गाउँपालिका-५ गैरीखर्कस्थित एक घरमा आगलागी हुँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ।

गएराति स्थानीय ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा एक्कासी आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको धादिङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

डिएसपी मिश्रका अनुसार आगलागी भएको सूचना प्रहरीले राति साढे ११ बजे पाएको थियो। सूचना प्राप्त भएपछि इन्स्पेक्टरको कमाण्डमा प्रहरी खटिएको थियो।

‘प्रहरी पुग्दा दुवै जनाको मृत्यु भइसकेको थियो,’ डिएसपी मिश्रले भने।
उनका अनुसार सो घरमा मकै पिस्ने विद्युतीय घट्ट पनि छ। राति विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको अनुमान छ।
‘घरमा वयोवृद्ध बुढाबुढीमात्रै बस्नुहुँदो रहेछ, उहाँहरू निस्कन सक्नुभएन होला,’ डिएसपी मिश्रले भने।

राति १२ बजेपछि आगो नियन्त्रणमा लिएको उनले बताए।
थाक्रे गाउँपालिका-५ का वडाध्यक्ष सन्त बहादुर तामाङका अनुसार दुवै जनाको शव आगलागी भएको घरमै छ।

‘ मुचुल्लकाका लागि प्रहरीहरू आउँदै हुनुहुन्छ । हामी कुरिरहेका छौं,’ उनले भने।

वडाध्यक्ष तामाङका स्थानीयले पानी ओसारेर आगो निभाएका थिए।
‘दमकल पुग्ने अवस्था थिएन। गाउँलेहरू मिलेर पानी ओसारेर आगो निभायौं,’ उनले भने।

आगलागीबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖