• Monday 5th of October 2026

यसकारण नेपालको अधिकांश इन्टरनेट सेवा डाउन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालको अधिकांश इन्टरनेट सेवा एक्कासी डाउन भएको छ । बिहीबार अपरान्ह चार बजेदेखि वर्ल्डलिङ्क, भायानेट, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकको नेटवर्क सुस्त चल्ने भएको हो ।

एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकका अनुसार सेवामा समस्या आउनुमा भारतीय अपस्ट्रिम सेवा प्रदायक कम्पनी एयरटेलले लिङ्क काटिदिएको हुन सक्ने आशङ्का गरिएको छ । “यद्यपि यो विषय पुष्टि भइसकेको भने छैन,” टेकपानासँगको कुराकानीमा उनले भने ।

सरकारले विवादित बक्यौताको विषयलाई लिएर इन्टरनेट सेवा प्रदायकहरूको विदेशी मुद्रा सिफारिस रोकिदिएको छ । जसका कारण सेवा प्रदायकले एयरटेल, टाटा लगायतका भारतीय अपस्ट्रिम सेवा प्रदायकलाई विगत एक वर्षदेखि अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी गर्न सकेका छैनन् ।

त्यसो त एयरटेल लगायतका अपस्ट्रिम सेवा प्रदायकले भुक्तानी नपाएको खण्डमा इन्टरनेट लिङ्क नै काटिदिने चेतावनी पटक पटक नेपाली इन्टरनेट सेवा प्रदायकहरूलाई दिंदै आइरहेका छन् । प्रमुख अन्तर्राष्ट्रिय ब्यान्डविथको नेटवर्क नै काटिएको र सहायक नेटवर्कबाट सीमित मात्रामा ब्यान्डविथ आइरहेको जनाइएको छ ।

यसले गर्दा नेटवर्कमा कन्जेसन बढेर सेवा प्रदायकहरूको सिस्टम नै पूर्ण रूपमा डाउन हुनसक्ने चिन्ता पैदा भएको छ । -टेकपाना

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖