• Monday 19th of October 2026

यसरी इटहरीमा श्वास नै रोकिने गरी फैलिएको धुवाँ कहाँबाट आयो ?


  • धनकुटा खबर
  • .

इटहरी : इटहरीमा मध्यरातिदेखि श्वास रोकिनेगरी धुँवा फैलिएर वातावरण प्रदूषित बनेको छ । वातावरण प्रदूषित बन्दा श्वास फेर्नै गाह्रो हुने र आँखासमेत समस्या भइरहेको स्थानीयबासीको भनाइ छ ।

इटहरी २ का रोशन अधिकारीले इटहरी–धरान सडकखण्डमा रहेको चारकोसे झाडीमा मध्यरातिदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र इटहरी क्षेत्रसहित रामधुनीको केही भागमासमेत समस्या भइरहेको बताए ।

‘चारकोसे क्षेत्रमा रातिदेखि नै डढेलो लागेको भन्ने कुरा आएको छ,’ उनले भने, ‘चारकोसेको बीच भागतिर डढेलो लाग्दा सबै क्षेत्रमा समस्या भएको छ । श्वास फेर्न, आँखा हेर्न मात्रै होइन । बाटोमा आवतजावत गर्ने यात्रुहरूलाईसमेत समस्या भइरहेको छ ।’

उनले तत्काल आगो निभाउनका निम्ति नियामक निकायले चासो दिनुपर्ने बताए ।

‘आगो कहाँदेखि कहाँसम्म लागेको भन्ने पनि थाहा भएन,’ अधिकारीले भने, ‘यसबारे वन कार्यालय र स्थानीय सरकारले तत्काल चासो देखाएर आगो निभाउनुपर्छ ।’

यस क्षेत्रमा धरान हुँदै पहाडी जिल्ला जाने सयौँ यात्रुहरू आवतजावत गर्छन् । तर, जताततै धुवाँ फैलिएका कारण बाटो हिँड्ने यात्रुहरूलाईसमेत समस्या भइरहेको छ ।

इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्पनारायण चौधरीले यसबारे आफूले बुझ्ने र डढेलो लागेको भए वन कार्यालयसँग समन्वय गर्ने बताए ।

‘धरान उपमहानगरले सेउतीदेखि पूर्वदेखि साइटमा आगो लगाउने र त्यसबाट धुवाँ आउने केही दिनअघि मात्रै गुनासो आएको थियो,’ उनले टाकुरा न्यूजसँग भने, ‘मैले धरानको वातावरण शाखासँग कुरा गर्दा जंगलमा लागेको आगो पुर्ने कार्य गर्ने भन्ने कुरा भएको छ ।’

उनले अहिले पनि धरान उपमहानगर र वन कार्यालयसँग समन्वय गर्ने बताए । आवश्यक परेको अवस्थामा दमकलबाट पानी लगाएर आगो निभाउने उनको भनाइ छ ।

खासगरी घाँस नपलाउँदा घाँसका लागि डढेलो लगाउने गर्दासमेत डढेलो लाग्ने जानकारहरू बताउँछन् कतिपयले आफैँ जानाजान आगो लगाउने, कतिपयले धुम्रपान सेवन गरेर जंगलमा फाल्दासमेत आगलागी र डढेलो लाग्ने बताइन्छ ।

जंगलमा लागेको डढेलो निभाउदा केही हदसम्म सहज हुने इटहरीबासीको भनाइ छ ।

यसबारे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाले जंगल क्षेत्रमा डढेलो लगाउने कार्य गर्ने मानिसको पहिचान गरी कारबाहीको दायरामा ल्याउने बताए ।

‘आगोजन्य पदार्थका कारण मानवीय क्षति हुँदै आइरहेको घटना बाहिरिएपनि मानिसहरू सचेत बनेको पाइँदैन,’ तिम्सिनाले भने, ‘जंगलमा डढेलो लगाएर अपराध गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेसम्मको प्रहरी टोलीको गस्ती परिचालन गरिएको छ ।’

उनले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयबाट प्रदेशका १४ वटै जिल्लामा प्रहरी टोली खटिइरहेकोसमेत बताए ।

‘डढेलो लागेको क्षेत्र विकट हुन्छ । प्रहरीकै पहुँचभन्दा बाहिरका एरियामा चरम लापरबाही भएको गुनासोहरू आइरहेका छन्,’ उनले भने ।-टाकुरा न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖