• Monday 19th of October 2026

दुई चारदिन पानी पर्ने सम्भावना छ : मौसमविद


  • धनकुटा खबर
  • .

स्थानीय र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली भएको छ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार पानी पर्ने क्रम सुरू भएको छ।
आइतबार काठमाडौं उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा पानी परेको थियो। त्यो क्रम बिहानबाट रोकिए पनि अपराह्नबाट पुनः सुरू हुने मौसमविद् अर्यालले बताए।

पश्चिमी वायुसँगै भारतको मध्य क्षेत्रबाट न्यूनचापीय प्रणाली विकास भई बंगालको खाडीबाट नेपालमा जलवाष्पयुक्त हावाको प्रवेश भएको र त्यसले केही दिन पानी पार्ने सम्भावना रहेकाे अर्यालले बताए।

‘देशभरि जसो नै बदलीको अवस्था छ। आजै अपराह्नपछि काठमाडौंसहित विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ,’ उनले भने, ‘पश्चिमी भूभागमा पनि पानी पर्ने सम्भावना छ।’

मौसमविद् अर्यालले पानी पर्ने क्रम दुईचार दिन कायम रहने सभ्भावना देखिएको पनि जानकारी दिएका छन्।

‘कतै पर्ला कतै नपर्ला तर दुई/चारदिन पानी पर्ने सम्भावना छ। भोलि र पर्सी मधेसदेखि पश्चिम बुटवलसम्म प्रभाव पार्ने सम्भावना छ। पहाडी र हिमाली भूभागमा पनि वर्षाको सम्भावना छ,’ उनले भने।

पश्चिम तराईका भूभागहरूमा भने पानी पर्ने सम्भावना नरहेको उनले बताए। पूर्वी तराईमा फाट्टफुट्ट वर्षा हुने पूर्वानुमान गरिएको अर्यालले बताए।
लामो समय पानी नपर्दा मुलुक डढेलोले आक्रान्त बनेको छ। आइतबार परेको पानीले पूर्वी भेगमा केही राहत भएको छ।

शनिबारसम्म २ सय भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको थियो। सोमबारसम्म पश्चिमी भूभागका ८० जंगलमा डढेलो लागिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖