• Wednesday 7th of October 2026

जेलबाट निस्केपछि के भने केजरीवालले ?


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर तिहाड जेलबाट आफ्नै निवास फर्किएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले देश तानाशाहीको कालखण्डबाट गुज्रिरहेको र यसको विरुद्ध सबैले मिलेर लड्नुपर्ने बताएका छन् । केजरीवाल ५० दिनपछि सर्वोच्च अदालतबाट अन्तरिम जमानत लिएर जेलमुक्त भएका हुन् ।

पत्रकारहरूसँग कुरा गर्दै केजरीवालले शनिबार हनुमान मन्दिरमा पूजा र पत्रकार सम्मेलन गर्नुका साथै दक्षिण दिल्लीमा पञ्जाबका मुख्यमन्त्री भगवन्त मानसँग रोड शोमा पनि भाग लिने बताए । आफ्नो निवासमा पुगेर केजरीवालले भने, ‘म देशका करोडौँ जनतालाई धन्यवाद दिन चाहन्छु, उनीहरूले आफ्नो प्रार्थना, आशीर्वाद पठाए, जसका कारण म आज जेलबाट छुटेको छु।‘

अरविन्द केजरीवालमाथि दिल्लीको कथित मदिरा नीति घोटालामा भ्रष्टाचारको आरोप छ। उनलाई प्रवर्तन निर्देशनालयले चैत २१ गते पक्राउ गरेको थियो ।

केजरीवालले भारत अहिले तानाशाही कालबाट गुज्रिरहेको आरोप लगाए । उनले भने, “आज देश तानाशाहीको चरणबाट गुज्रिरहेको छ। हाम्रो देश चार हजार वर्षभन्दा पुरानो छ। हाम्रो देश एक महान् देश हो, जब कसैले तानाशाही गर्न खोज्यो, जनताले उसलाई कहिल्यै सहन गरेनन्।’

उनले थपे, ‘तन, मन र धनले तानाशाहीको विरुद्ध लडिरहेको छु, हामी सबै मिलेर यो अधिनायकवादलाई परास्त गर्नुपर्छ । म जनतालाई अपिल गर्दछु, देश बचाउनको लागि हामी सबै एकजुट भएर लाग्नुपर्छ ।’

केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनलाई सर्वोच्च अदालतले जुन १ गतेसम्म सशर्त जमानत दिएको छ । यस अवधिमा केजरीवाल आफ्नो सरकारी कार्यालयमा जान पाउने छैनन् साथै कुनै पनि फाइलमा हस्ताक्षर गर्न पाउने छैनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖