• Monday 5th of October 2026

सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा


  • धनकुटा खबर
  • .

सोल । दक्षिण कोरियाको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सामसुङको कारखानाका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल शुरु गरेका छन् । तलब र अन्य सुविधाको माग गर्दै कर्मचारीको युनियनले हड्तालको घोषणा गरेको हो । 

राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले तीनदिने आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो । व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो निर्णय गर्न बाध्य भएको युनियनले जनाएको छ ।

 युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० देखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ।’ यस युनियनले दक्षिण कोरियामा सामसङ  इलेक्ट्रोनिक्स कामदारहरूको एक चौथाई प्रतिनिधित्व गर्दछ । 

युनियनले हडतालले उत्पादन अवरुद्ध भएको जनाएको छ, यद्यपि सामसुङले यो दाबीलाई अस्वीकार गरेको छ । ‘हाम्रो विचारमा, उत्पादनमा कुनै अवरोध हुनेछैन,’ फिबोनाची सम्पत्ति व्यवस्थापन ग्लोबलका जुंग इन युनले भनेका छन् । 

गत महिना युनियनले कम्पनीमा पहिलो पटक हडताल गरेको थियो । कम्पनीको करिब ५५ वर्षको इतिहासमा यो पहिलो पटक भएको हो । सामसङ इलेक्ट्रोनिक्स मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता हो ।

यो दक्षिण कोरियाली समूह सामसुङ समूहको प्रमुख इकाई हो । यो हड्तालपछि कोरिया स्टक एक्सचेन्जमा सामसुङको सेयरमा गिरावट आएको छ । 

सामसुङ समूह कामदारहरूको प्रतिनिधित्व गर्ने युनियनहरूसँग वार्ता नगर्ने कारणले परिचित छ, तर २०२० मा, यसको अध्यक्षलाई बजार हेरफेर र घुसखोरीको आरोपमा मुद्दा चलाइएको थियो, त्यसपछि कम्पनीको अडान परिवर्तन भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖