• Friday 9th of October 2026

मोर्केललाई बलिङ प्रशिक्षक बनाउन चाहन्छन् गम्भीर


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । दक्षिण अफ्रिकाका पूर्व खेलाडी तथा पाकिस्तानका पूर्व प्रशिक्षक मोर्ने मोर्केल भारतको बलिङ प्रशिक्षक बन्ने दौडमा छन् । भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले मोर्केललाई भारतको बलिङ प्रशिक्षक बनाउन चाहेका छन् ।

क्रिकबजको रिपोर्टका अनुसार, गम्भीरले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई मोर्केललाई बलिङ कोचका लागि विचार गर्न अनुरोध गरेका छन्। रिपोर्टका अनुसार मोर्केलसँग यसबारेमा प्रारम्भिक छलफलसमेत भएको छ ।

गम्भीर र मोर्केलले लखनऊ सुपर जायन्ट्स (एलएसजी) मा सँगै काम गरेका छन्। गम्भीर दुई वर्षदेखि लखनउको मेन्टर रहेका थिए भने मोर्केल अझै बलिङ प्रशिक्षक छन्।

मोर्ने मोर्केलले सन् २००६ देखि २०१८ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। यस अवधिमा उनले ८६ टेस्ट, ११७ एकदिवसीय र ४४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

मोर्केल पाकिस्तानी क्रिकेट टोलीका बलिङ प्रशिक्षक रहिसकेका छन् । सन् २०२३ को विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि उनले पाकिस्तानी टोलीको बलिङ प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । मोर्केल गत जुनमा ६ महिनाको सम्झौतामा टोलीमा सामेल भएका थिए र सम्झौता पूरा हुनुअघि नै राजीनामा दिएका थिए ।

मोर्केलबाहेक भारतीय टिमका पूर्व फास्ट बलर जहीर खान, लक्ष्मीपति बालाजी र विनय कुमारलाई बलिङ प्रशिक्षकमा नियुक्त गर्ने चर्चा चलिरहेको छ । बीसीसीआईले यी तीनको नाममा पनि विचार गरिरहेको छ । यद्यपि बीसीसीआईले अन्तिम निर्णय लिन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖