काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सर्वाधिक विकेट लिने चितवन राइनोजका बलर रिजन ढकालले व्यक्तिगततर्फको सबैभन्दा ठूलो पुरस्कार कार जितेका छन्।
प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेका रिजनले १७ विकेट लिँदै गोल्डेन क्यापसमेत हात पारे। उनको टोली चितवन राइनोज एलिमिनेटरबाट बाहिरिए पनि व्यक्तिगत प्रदर्शनका आधारमा उनले प्रतियोगिताको प्रमुख पुरस्कार जित्न सफल भएका हुन्।
सर्वाधिक विकेट लिने बलरको सूचीमा च्याम्पियन सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन १५ विकेटसहित दोस्रो स्थानमा रहे। चितवन राइनोजकै कमलसिंह ऐरी १३ विकेटसहित तेस्रो भए।
त्यस्तै, जनकपुर बोल्ट्सका राहुल यादव र काठमाडौं गोर्खाजका जहानदाद खानले समान १२ विकेट लिएर क्रमशः चौथो र पाँचौँ स्थान हासिल गरे।
जनकपुर बोल्ट्सका १६ वर्षीय बलर राहुल यादव प्रतियोगिताको इमर्जिङ प्लेयर घोषित भए। उनले पनि प्रतियोगितामा १२ विकेट लिएका थिए। सर्वाधिक रन बनाउने नेपाली खेलाडी लोकेश बमले मोटरसाइकल प्राप्त गरे।
प्रतियोगिताको उपाधि जितेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। ऐरी प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत घोषित भए।
