• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

‘पछाडि फर्किनका लागि संविधान संशोधन गर्न लागेको होईन’:गृहमन्त्री लेखक


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ भदौ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनमार्फत वर्तमान व्यवस्थालाई थप सुदृढ बनाइने बताएका हुन् ।

‘संविधान संशोधन गर्ने विषयलाई पनि हामीले एजेण्डा बनाएका छौं । तर, संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नका लागि, थप राम्रो बनाउनका लागि हो, पछाडि फर्किनका लागि होईन,’– उनले भने ।

गृहमन्त्री लेखकले कांग्रेस–एमालेको सरकार बनेको एक महिनामा केही महत्वपूर्ण काम भइसकेको बताए । उनले विगत १८ वर्षदेखि निश्कर्षमा पुग्न नसकेको शान्ति प्रक्रियाको बाँकी काम निश्कर्षमा पुर्याउन प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित गरिएको बताए । सो विधेयक राष्ट्रिय सभाबाट आगामी भदौ ६ गते पारित गरिने पनि उनले खुलासा गरे ।

‘१८ वर्षसम्म अलमलमा परेको, रुमलिएको र निश्कर्षमा पुग्न नसकेको शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकाल सम्बन्धित कानुनलाई अहिले प्रतिनिधि सभाले पारित गरिसकेको छ । ६ गते हामी राष्ट्रिय सभाबाट त्यो पारित गरेर चाँडै हामी संक्रमणकालीन न्यायका विषयहरुलाई सम्बोधन गर्छौं,’– नेता लेखकले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖