• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

धरानमा १४ क्विन्टल गाँजासहित दुईजना पक्राउ


  • धनकुटा खबर
  • .

इटहरी- धरानबाट प्रहरीले १४ सय केजी गाँजा बरामद गरेको छ। धरान १३ स्थित सारङ्बाट प्रहरीले आज (बिहीबार) बिहान ९ बजेतिर १४ क्वीन्टल गाँजा बरामद गरेको हो। १ क्वीन्टलमा एक सय किलोग्राम हुन्छ। यससँगै लागूऔषध गाँजा ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ।

सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार को १ ख ४७३३ नम्बरको ट्रकमा लोड गरेर धनकुटातिरबाट ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो। ट्रकलाई रोकेर खानतलासी गर्दा मुलाको बोरासँगै लोड गरिएको अवस्थामा ४४ बोरा गाँजा फेला परेको रेग्मीको भनाइ छ। उनका अनुसार मुलाको बोरासँगै सेतो बोराभित्र प्याक गरी ट्रकमा लोड गरेर गाँजा ल्याइएको थियो।

ट्रकबाट एक हजार चार सय २० किलोग्राम गाँजा बरामद भएको एसपी रेग्मीले जानकारी दिए। गाँजा बरामद भएसँगै ट्रकमा रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ४१ वर्षीय भूपेन्द्र राई रहेका छन्।

उनीहरूले ट्रकमा मुला ओसारपसार गरेजस्तो देखाएर गाँजाको अवैध धन्दा चलाउने गरेको प्रहरीको भनाइ छ। गाँजा बरामद गरेर ट्रक नियन्त्रणमा लिएको प्रहरीले दुवै जनामाथि अनुसन्धान सुरु गरेको छ। उनीहरूविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖