सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ ।
संसद् सचिवालय सिंहदरबारमा शुक्रबार अपरान्हबाट समितिले रविसँग बयान लिएको हो ।
गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेसँग समितिले बयान लिएको हो ।
गोरखा मिडियाकै पूर्व सञ्चालक छविलाल जोशी बञ्जाडेसँग समितिले शुक्रबार झण्डै ५ घण्टा लामो बयान लिएको थियो ।
लामिछानेसँग सोध्नका लागि समितिले तीन दर्जन लिखित प्रश्नावली तयार गरेको समिति सचिवालय स्रोतले जानकारी दियो ।
अधिकांश प्रश्न व्यक्तिको नाममा सहकारीबाट ऋण लिएर टेलिभिजनमा लगानी गर्न मिल्छ ? भनेर सोधिएको छ ।
बयानका लागि सभापति लामिछाने केही फाइल बोकेर संसदीय समितिको बैठकमा प्रवेश गरेका थिए ।
लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक र सञ्चालक रहेको समयमा विभिन्न सहकारीबाट ग्यालेक्सी टीभीमा लगानी भएको थियो ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायत सहकारीबाट रविको नाममा ऋण प्रवाह भएको थियो । रवि गृहमन्त्री रहेको समयमा कांग्रेसले सहकारी ठगीमा उनको संलग्नताबारे छानबिनको माग गरेपछि संसदीय छानबिन समिति गठन भएको थियो ।
३ महिनाको समय पाएर जेठ १५ गते गठन भएको संसदीय समितिले सहकारी सञ्चालकको बयानसँगै प्रतिवेदन लेखनको काम पनि गरिरहेको छ ।
भदौ १५ भित्रै प्रतिवेदन तयार गर्ने गरी काम भइरहेको समितिका संयोजक सूर्य थापाले बताएका छन् ।
