• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

रविले हालिदिए भएभरका दोषजति जीबी राईको थाप्लोमा, यो प्रकरणबाट पाउलान् त उन्मुक्ति


  • धनकुटा खबर
  • .

काठमाडौं – पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बयानका क्रममा आफूमाथि लागेको भएभरको दोषजति जिबी राईको थाप्लोमा हालिदिएर उम्किन खोजेका छन्। उनको समूहले गरेको सहकारीको बचत रकम अपचलन तथा गोरखा मिडियामा आएको रकमबारे आफूलाई केही जानकारी नभएको भन्दै भएभरको दोष राईको थाप्लोमा हालिदिएका हुन् ।

सहकारी बचत रकम अपचलन छानविन गर्न गठित संसदीय विशेष सुनुवाई समितिसमक्ष शुक्रवार मध्यरातसम्म ९ घण्टाभन्दा बढी भएको सोधपुछमा गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालकमध्येका एक लामिछानेले इन्कारी बयान दिएको समितिका सदस्य लेखनाथ दाहालले बताए ।

दाहालले भने– ‘९ घण्टाभन्दा बढी समय सोधपुछ भयो र उहाँ तथा छबिलाल जोशीका सबै बयान लगभग रेडिमेड नै थिए । रविजीले इन्कारी बयान दिँदै आफू गोरखा मिडिया नेटवर्ककको मालिक नभएर तलबी कर्मचारीमात्र भएको बताउनुभएको छ । सहकारीको रकम कसरी आयो र के कसरी अपचलन भयो भन्नेबारेमा मलाई केही जानकारी छैन भन्नुभएको छ । अब जिबी राईलाई ल्याएर सोधपुछ नगरी कुनै निष्कर्षमा पुग्न नसकिने देखिन्छ ।’

रविलाई समितिले लिखित प्रश्न सोधेको थियो । व्यक्तिको नाममा सहकारीबाट ऋण खडा गरेर गोरखा मिडियामा लैजान मिल्छ ? भन्ने प्रश्नमा रविले आफ्नो नाममा ऋण लिएको समेत जानकारी नरहेको जवाफ दिएका छन् ।

रविको जवाफ उधृत गर्दै एक सदस्यले भने– ‘यो छानविन समितिबाट सहकारीका वचतकर्तासँगै मैले पनि न्याय पाउने अपेक्षा गरेको छु । मलाई जसरी जोडिएको छ कुन सहकारीबाट कति ऋण निकालेर मिडियामा लगियो भन्ने केही थाहा छैन । मेरो नाममा जिबी राईले नै ऋण निकालेर लगेका रहेछन् भने थाहा हुने कुरा पनि भएन । मेरो नाममा ऋण निकालेको पनि थाहा छैन र तिरेको पनि थाहा छैन । नक्कली नाममा ऋण लिएको हुनसक्छ ।’

रविले जिबी राईलाई आफूले पक्राउ गर्नै लाग्दा केही व्यक्तिले भगाएको भन्दै उनी मलेसियामै रहेकाले सरकारले ल्याउन सक्ने बताएका छन् । समितिका सभापति सुर्य थापाले सोधपुछका सवाल जवाफहरु अहिले गोप्य नै रहने भन्दै रवि लामिछानले आफूमाथिका आरोप भने अश्वीकार गरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖