• Monday 5th of October 2026

सबै फोनमा निःशुल्क स्याटलाइट कल सेवा दिने एलन मस्कको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । अर्बपति उद्यमी एवं स्पेसएक्सका मालिक एलन मस्कले सबै मोबाइल प्रयोगकर्ताका लागि निःशुल्क सेलुलर स्टारलिङ्कको सेवा दिने घोषणा गरेका छन् । बुधबार एक एक्स पोस्टमा रिप्लाई दिँदै मस्कले मोबाइल फोनहरूका लागि आपतकालीन अवस्थामा सेलुलर स्टारलिङ्क सेवा निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता दिएका हुन् ।

एक एक्स प्रयोगकर्ताले स्टारलिङ्कले अमेरिकाको फेडरेल कम्युनिकेसन कमिसन (एफसीसी)लाई पठाएको पत्र राख्दै कम्पनीको ‘डाइरेक्ट टु सेल’ प्रविधि बरदान हुने उल्लेख गरेका थिए । स्याटलाइट कनेक्टिभिटी सेवा भएको टी-मोबाइल, आईफोन १४ तथा पछिका मोडेल, ह्वावे मेट ६० प्रो लगायतका फोनमा उपलब्ध छ ।

केही सीमित कम्पनीका प्रयोगकर्ता बाहेक अन्य मोबाइल प्रयोगकर्ताका लागि यो सेवा उपलब्ध छैन । उनीहरूका लागि सेलुलर टावर नटिप्ने ठाउँमा आपतकालीन अवस्थामा स्याटलाइट कनेक्टिभिटी आवश्यक पर्ने ती प्रयोगकर्ताको आशय थियो । सो पोस्टमा रिप्लाई दिँदै मस्कले स्याटलाइट कल सेवाले धेरै मान्छेलाई सहयोग गर्ने बताए । आफ्नो रिप्लाईमा अर्को रिप्लाई दिँदै मस्कले यो फिचर निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।

स्पेसएक्स स्टारलिङ्कले सङ्कटमा परेका मानिसहरूलाई मोबाइल फोनका लागि आपतकालीन सेवा निःशुल्क उपलब्ध गराउनेछ,” उनले लेखेका छन्, “यो विश्वव्यापी रूपमा लागू हुन्छ ।” तर, सम्बन्धित देशको सरकारले स्टारलिङ्कलाई मान्यता दिएको हुनुपर्ने मस्कले उल्लेख गरेका छन् ।

स्पेसएक्सले एफसीसीलाई आफ्नो ‘डाइरेक्ट टु सेल’ स्टारलिङ्क प्रविधिलाई व्यावसायिक रूपमा सञ्चालन गर्न अनुमति दिन अनुरोध गर्दै २३ अगस्टमा पत्र पठाएको थियो । स्टारलिङ्कले पत्र पठाइसकेपछि यसमा एटीएन्ड टी र भेराइजन लगायतका प्रतिस्पर्धी क्यारियरहरूले विरोध गरिरहेका छन् ।

स्पेसएक्सले एफसीसीलाई पठाएको पत्रमा स्टारलिङ्क प्रविधिले सबै उपभोक्ताहरूलाई लाभ पुर्‍याउने वाचा गरिएको छ । यस प्रविधिले मोबाइल सेवा नपुगेको क्षेत्रमा रहेका सबै वायरलेस प्रयोगकर्तालाई आपतकालीन सन्देश पठाउन सहयोग पुर्‍याउने मस्कको भनाइ छ ।

सेलुलर स्टारलिङ्क प्रविधिले पृथ्वीको कक्षमा रहेका स्याटलाइटको प्रयोग गरेर भू-स्तरका प्रयोगकर्ताहरूलाई सेलुलर र इन्टरनेट कनेक्सन पठाउँछ ।

हालसम्म मस्कले यस विषयमा थप विवरण उपलब्ध गराएका छैनन् । तर यो सेवा एप्पलको आपतकालीन एसओएस कनेक्टिभिटी भाया स्याटलाइट फिचरसँग मिल्दोजुल्दो हुने सम्भावना छ । यो फिचर आईफोन १४ र त्यसपछिको फोनमा निःशुल्क उपलब्ध भएको छ ।

एप्पलको हकमा स्याटलाइट सेवाले परम्परागत मोबाइल सेवाहरू नभएका दुर्गम क्षेत्रहरूमा रहेका व्यक्तिहरूको जीवन बचाएको कैयन् समाचार बाहिर आएका छन् ।

स्पेसएक्सले टी-मोबाइलसँग मिलेर सेलुलर स्टारलिङ्क सिस्टम सुरु गर्न एफसीसीबाट स्वीकृति पाउन प्रयास गरिरहेको छ । यसैले मस्कको पोस्टले सम्भवतः अमेरिकी नियामकलाई दबाब दिने उद्देश्य राखेको अनुमान गर्न सकिन्छ ।

सोही पोस्टको थ्रेडमा जीओपी एफसीसी कमिस्नर ब्रेन्डन कारले भनेका छन्, “डाइरेक्ट टु सेल प्रविधिले सार्वजनिक सुरक्षामा सञ्चार र पहिलो प्रतिक्रिया दिनेहरूलाई साँच्चिकै लाभ पुर्‍याउनेछ ।”

एफसीसीलाई पठाएपको पत्रमा स्टारलिङ्कले सेलुलर स्टारलिङ्क स्याटलाइटलाई सामान्य रेडियो फ्रिक्वेन्सी मापदण्ड बाहिर सञ्चालन गर्न अनुमति दिन अनुरोध गरेको छ । स्पेसएक्सले यो अनुरोध कभरेज र तीव्र गतिको इन्टरनेट सुनिश्चित गर्न आवश्यक भएको बताएको छ ।

यद्यपि एटीएन्डटी र भेराइजनले सेलुलर स्टारलिङ्क स्याटलाइटले धेरै रेडियो इन्टरफेरेन्स उत्पन्न गर्ने चिन्ता व्यक्त गरेका छन् । त्यसैले उनीहरूले निरन्तर एफसीसीलाई स्टारलिङ्कको अनुरोध अस्वीकार गर्न माग गरेका छन् ।-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖