काठमाडौं – सहकारीको रकम अपचलनमा संसदीय छानबिन समितिलाई बयान दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । १० भदौमा प्रहरीको बयान सकिएलगत्तै लामिछानेले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई भेटेको सत्ता पक्षीय एक नेताले बताएका छन् ।
कांग्रेस बैठकमा सभापति देउवाले लामिछानेले आफूलाई भेटेको जानकारी गराएका थिए । कांग्रेस स्रोतका अनुसार पार्टी बैठकमा एजेण्डा बाहिरको छलफल हुँदै सहकारी प्रकरण पनि उठेको थियो । लामिछानेले सोमबार साँझ ओलीसँग दोस्रोपल्ट भेटेको प्रधानमन्त्री निकट स्रोतले पुष्टि गर्यो । ‘डेढ घण्टा एक्लाएक्लै कुरा गर्नुभएको थियो, विस्तृत थाहा हुन सकेन’, प्रधानमन्त्री स्रोतले भन्यो, ‘समसामयिक कुराहरु हुने नै भए ।’ त्यसअघि अघिल्लो साता एक्लै बालुवाटार पुगेका लामिछानेबारे गृहमन्त्री रमेश लेखकले सूचना पाएपछि प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । ओलीले ‘तपाईंको पार्टी सभापतिलाई पनि भेट्नुभयो होला, बुझ्नोस् त’ भनी संकेतमा जवाफ दिएपछि लेखकले देउवासँग परामर्श गरेका थिए ।
देउवाले पार्टी बैठकमा सामान्य चर्चामात्रै गरे पनि लामिछानेसँग गरेको कुराकानीबारे विस्तारमा बताएनन् । देउवाले सरकारतिरै देखाएपछि लामिछानेले फेरि प्रधानमन्त्री भेटेको बताइएको छ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी र हिनामिना प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धानलाई तीव्रता दिने क्रममा लामिछानेसहितका आरोपितसँग बयान लिएको थियो ।
लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक थिए, जसले सहकारीमा खाता नै नखोली अवैधानिक रुपमा मिडिया हाउसमा पैसा लगेको पीडितहरुको उजुरी छ । यसै विषयमा आधारित रही लामिछानेसँग ७ भदौमा ९ घन्टा बढी संसदीय छानबिन विशेष समितिले सोधपुछ गरेको थियो । समितिले सोधपुछ गरेपछि कास्की प्रहरी काठमाडौं आएर उनीसँग बयान लिएको थियो ।
