• Wednesday 7th of October 2026

भलिबलका प्रशिक्षक राईलाई स्पेशल अवार्ड


  • धनकुटा खबर
  • .

पल्सर स्पोर्ट्स अवार्ड २०८० मा शुक्रवार भलिबल प्रशिक्षक कुमार राई स्पेशल अवार्डबाट सम्मानित भएका छन्।

नेपाली महिला भलिबलको सफलता लोभलाग्दो छ।‌ यो सफलतामा पर्दा पछाडिका नायक हुन, राई।‌ उनले राष्ट्रिय टिमलाई अनि विभागीय टिमको लागि थुप्रै स्टार खेलाडी दिएका छन्।

न्यु डायमण्डका तत्कालीन प्राध्यापक राईले स्कुलमा सानो ठाउँमा ठुलो आँट सहित‌ महिला भलिबलको सुरूवात गरे। साना खेलाडीहरूलाई भलिबल सिकाउँदै सुरू गरेको यात्रा न्यू डायमन्ड भलिबल एकेडेमी हुँदै अहिले न्यु डायमन्ड युथ भलिबल क्लबको‌ रूपमा स्थापित भएको छ।‌

अहिले सात रोपनी जग्गा भाडामा लिएर सञ्चालन भैरहेको छ। जहाँ दुई दर्जनभन्दा बढी एकेडेमी खेलाडीहरु प्रशिक्षणमा छन्।

रेश्मा भण्डारी, रमिला तण्डुकार, प्रगतिनाथ, सलिना श्रेष्ठ, रिमा कुँवर, प्रतिभा माली, कृपा अधिकारी, सुमित्रा रेग्मी जस्ता खेलाडीहरू कुमार राई र न्यु डायमण्डले राष्ट्रिय महिला भलिबल टिमलाई दिएको खेलाडी हुन्।

अहिले पनि राईको जोशमा कमी आएको छैन। उनी विशेषगरी खेलाडी उत्पादनमा नै तल्लीन छन्। आर्थिक समस्या छ। तर यसले उनलाई रोकेको छैन। निरन्तरको प्रयाश, निरन्तरको जोश र मिहिनेतको कारण उनले महिला भलिबललाई निकै ठुलो गुण लगाएका छन्।‌

न्यु डायमण्ड नेपाली महिला भलिबलको घरेलु प्रतियोगितामा विभागीय टिमलाई‌ समेत चुनौती दिने सशक्त टोली पनि हो। नेपाली भलिबलमा‌ सबैका सर राईलाई स्पेशल अवार्डले सम्मान गरिएको हो।

अवार्ड ग्रहण गरेपछि राईले यो सफलता परिवारसँग बाँडे। न्यु डायमण्ड स्कुल र भलिबल संघलाई पनि धन्यवाद दिए र अझै नेपलको लागि थुप्रै खेलाडी जन्माउँदै जाने बताए।

अवार्डमा आज कुल १० विधामा अवार्ड प्रदान गरिनेछ। अवार्डको पुरूष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछ। यसबाहेक अन्य विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।‌

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖