• Monday 5th of October 2026

कस्तो मासु हितकारी र कस्तो हानिकारक ?


  • धनकुटा खबर
  • .

डा. केदार कार्की/दशैँ नेपालीको महान् चाड को । एक दृष्टिले दशैँ खानपिनको चाड पनि हो। दशैँमा अधिकांश नेपालीको घरमा मासुका विभिन्न परिकार बनेका हुन्छन् । तर ती परिकार स्वास्थ्यको लागि कत्तिको हितकारी छन् भन्ने ख्याल राख्नु अत्यन्त आवश्यक छ। चिल्लो र कोलेस्ट्रोल बढी भएको, भुटेको, तारेको मासुले मुटुरोग लाग्न सक्ने र मुटुरोग लागिसकेकालाई अझै समस्यामा पार्न सक्ने भएकाले यसबाट टाढा रहनु आवश्यक छ।

नेपालीहरूको घर–आँगनमा यति बेला दशैँ शुरू भइसकेको छ । यस पर्वमा माछामासुको धेरै खपत हुने गरेको छ। दशैँमा हजारौं कुखुरा, हाँस, राँगा र बोकाको बलि दिने वा घर–घरमा काटेर खाने र खुवाउने चलन छ। दशैँमा बलि नदिने मांसाहारी मानिसले पनि पसलबाट मासु ल्याएर खाने गरेका छन्। मध्यम र उपल्लो वर्गका मानिस च्याङ्ग्र्राको मासु नखाएसम्म दशैँमा मनोरञ्जन लिएको मान्दैनन्।

हिन्दु नेपालीहरुको महान् पर्व दशैँमा विशेष गरी चिल्लो भएका खानेकुरा तथा मासुका विभिन्न परिकार खाने चलन छ । जसले गर्दा दशैँ मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न र ताजा मासु खान आवश्यक हुन्छ ।

गच्छेअनुसार मीठो मसिनो खाएर दशैँ मनाउने नेपालीको परम्परा नै हो । परम्परा अवश्य पनि धानिदै छ यसपटक पनि । त्यसो त, अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिँदैन । नेपालीको महान् चाड दशैँमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋण गरेरै भए पनि दशैँमा मासु खानै पर्छ भन्ने मान्यता राख्छन् । अन्य समय त छँदै छ तर चाडबाडमा मासु अत्यधिक खाने प्रचलन नयाँ भने होइन ।

दशैँमा दैनिकजसो मासुका परिकार पाक्ने गर्छन् । तर मासु कति, कसरी र कस्तो खाने भन्ने सन्दर्भमा हामी खासै सचेत छैनौं । प्रायले मासु खाए पुग्यो भन्ने मान्यता राख्ने गरेको पाइन्छ । गलत तरिकाले भण्डारण गरिएका र बासी मासु खाँदा ज्यानै जान सक्ने हुन सक्छ । मासुमा १४ प्रतिशतदेखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ भने यसमा जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन् । शरीरका लागि यी अति आवश्यक तत्वहरू हुन् । नेपालीमा मासु खाने संस्कृति विकसित भए पनि खानपानको तरिका भने सन्तुलित भइसकेको छैन ।

सन्तुलित भोजनका लागि मासु अनिवार्यजस्तै मानिन्छ तर सही किसिमले उपभोग नगरेको खण्डमा यसबाट प्राप्त हुने तत्वहरू पाउन सकिँदैन भने यसले स्वास्थ्यमा समेत ठूलै असर गर्न सक्छ । विभिन्न अध्ययन–अनुसन्धानले दैनिक धेरै मात्रामा मासु खानाले पनि स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्ने देखाएका छन्।

चाडबाडमा मासु खानै नहुने भन्ने होइन, तर कस्तो मासु खाने, कति र कसरी खाने, भन्ने कुरा महत्वपूर्ण हुन्छ । रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खान जान्नुपर्ने हुन्छ । स्वस्थ मासुका लागि सबैभन्दा पहिले मासु प्रयोग गर्ने पशुपन्छी नै स्वस्थ हुन जरुरी हुन्छ ।

दशैँका लागि खसी र बोका छनोट गर्ने कुरामा ध्यान दिन सके मासुबाट सर्ने रोगबाट बच्न तथा स्वस्थ मासु प्राप्त गर्न सकिन्छ । दशैँका लागि बजारमा ल्याइने खसी, बोका, राँगा, च्याङ्ग्र्रामा पशु सेवा विभागले स्वास्थ्य परीक्षण गरी विभिन्न रंगले मार्किङ गरेका पशु मात्रै खरिद गर्नु उचित हुन्छ । हेर्दै अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएको, फनफनी घुमिरहने खसीबोका किन्नुहुँदैन । केही रकम जोगाउने नाममा रोगी पशु किन्नु भनेको रोग नै किन्नुसरह हुने हो । दशैँमा काठमाडौं भित्रिने खसीबोकालाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रंग दलिदिने गरिएको छ । सिङमा हरियो रंग पोतिएका खसीबोका वा च्याङ्ग्रा स्वस्थ हुन् भने रातो रंग दलिएका अस्वस्थ हुन् भन्ने संकेत हो ।

मासु छिट्टै सड्ने खाद्यवस्तु हो । त्यसैले हलुका गुलाबी, हरियो वा प्याजी रंगको भए त्यो खान अयोग्य भइसकेको अर्थात् सड्न शुरू गरेको भन्ने बुझ्न सकिन्छ । मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, दुर्गन्ध आउनुहुँदैन । सफा फ्रिजमा अलग–अलग गरी छोपेर राखेको मासु मात्रै खरिद गर्नुपर्दछ । मासु काट्दा र समाउँदा तन्केजस्तो लाग्छ भने त्यस्तो मासु खरिद गर्नुहुँदैन । साथै मासु पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काट्ने तरिका, तराजु सफा छ कि छैन भन्नेमा पनि ध्यान दिनुपर्छ ।

फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको, बासी तथा खुला स्थानमा राखेको, काँचो मासुको परिकार खानु राम्रो मानिदैन । मासु राम्ररी पखालिएको हुनुपर्छ । पखालिएको मासु पकाउँदा राम्ररी पाकेको हुनुपर्छ । मासुमा मानिसले धेरै थरीका मसला र धेरै चिल्लो पदार्थ राखेर पकाउने गर्छन् । तर मसला र चिल्लो दुवै कम भएको मासु खानु स्वास्थ्यका लागि लाभदायी हुने चिकित्सकहरू बताउँछन् । सकेसम्म बोसो र छालारहित मासु खानुपर्छ । घरमा काटेर मासु तयार पार्दै हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनै पर्छ ।

मासुलाई राम्रोसँग सुरक्षित ढंगले राख्न नजानेमा त्यही मासुबाट विभिन्न किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा हुनसक्छ। त्यसकारण दशैँमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक हुन्छ।

नेपालका मासुपसलमा हुने गरेको लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण हुने गरेको छ । फोहोर वधशाला, मासुको तयारी तथा खानपानमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका फ्लु तथा सरुवा रोग सर्ने माध्यम हुन सक्ने खतरा हुन्छ । त्यसैले मासु फ्रिजमा माइनस डिग्रीमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राखेको खान उपयुक्त हुन्छ। मानिसहरु पनि दशैँ नै हो भनेर जथाभावी मासु किन्ने र अत्यधिक मात्रामा खाने गर्दछन्। यसरी मासु खानु नितान्त गलत हो।
मासु पकाउने तरिकाले पनि मासु स्वस्थकर वा अस्वस्थकर बन्छ।

पोलेर खाएको मासु कदापि हितकर हुँदैन। अति धेरै मसालेदार, अति धेरै भुटिएको, पटक–पटक तताइएको वा पाकेको मासुलाई पटक–पटक पकाएर खाँदा स्वाद त आउला तर शरीरलाई बेफाइदा गर्दछ। चाडपर्वमा भोजन सन्तुलन मिलाएर खानुपर्छ। बोसो र छालारहित मासु वयष्क व्यक्तिले १ सय ५० ग्रामसम्म खान मिल्छ। सन्तुलित भोजन भनेको दशैँमा मासुसँगै सागपात, फलफूल र रेसादार खानेकुरा खानु बुद्धिमानी हुन्छ ।

(डा. कार्की वरिष्ठ पशु चिकित्सक हुनुहुन्छ ।)

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖