शुक्रबार नेपाली ग्राहकले ऐतिहासिक मूल्यमा सुन खरिद गरे। उनीहरूले १ तोलाका लागि १ लाख ६१ हजार ३ सय रुपैयाँ खर्च गरे। यो मूल्य नेपालमा सुन कारोबार भएयताकै उच्च हो।
पछिल्लो समय सुनले दिनहुँजसो उच्च मूल्यको कीर्तिमान बनाउँदै आएको छ। खासगरी गत भदौयता सुनको मूल्यको ‘ग्राफ’ उकालिँदो छ।
भदौ २ गते १ लाख ५२ हजार ६ सय रुपैयाँ तोलामा कारोबार भएको सुन ३१ गते आइपुग्दा १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यसपछि असोजको १ गते केही घटेर १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन १८ गते आइपुग्दा १ लाख ६१ हजार ३०० पुगेको हो।
५ वर्षअघि अर्थात् २०७७ असोज १ गते सुनको मूल्य ९६ हजार ६ सय रुपैयाँ थियो भने सोही महिनाको अन्तिम दिन केही घटेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसको अर्को वर्ष अर्थात् ०७८ असोज सुरु हुँदा ८९ हजार १ सय र सोही महिनाको अन्तिम कारोबार दिन (२५ गते) ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
०७९ असोज सुरु हुँदा ९१ हजार ८ सय र अन्तिम कारोबार दिन (३१ गते) ९३ हजार ३ सय रुपैयाँ थियो। ०८० असोज १ मा अर्थात् एक वर्षअघि आइपुग्दा भने सुनको मूल्य बढ्न सुरु भएको देखिन्छ। १ गते १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सो महिनाको अन्तिम कारोबार दिन (३० गते) १ लाख ११ हजार ९ सय रुपैयाँ पुगेको थियो।
यो वर्ष असोज सकिन बाँकी नै छ। तर मूल्यवृद्धिको लय हेर्दा अझै माथि जान सक्ने देखिन्छ।
किन बढ्यो सुनको मूल्य?
सुनको मूल्यवृद्धिमा विविध कारण जोडिन्छन्। नेपालको हकमा सुनको मूल्य निर्धारण नेपाल सुनचाँदी व्यवसायी महासंघले गर्छ। यसमा पहिलो पक्ष अन्तर्राष्ट्रिय मूल्य हो भने भन्सार दर, बैंकको लागत, विदेशी मुद्राको मूल्य, व्यवसायीको नाफाजस्ता अन्य पक्षहरू जोडिन्छन्।
वर्तमान मूल्यवृद्धिसँग विश्वबजार मूल्य नै प्रमुख कारण मानिएको छ। नेपालमा सुनको मूल्यवृद्धिमा अन्तर्राष्ट्रिय बजार मूल्यको योगदान छ। विश्वबजारमै अहिले सुनको मूल्य बढिरहेको छ।
वर्ल्ड गोल्ड काउन्सिल (डब्लुजीसी)का अनुसार शुक्रबार सुनको मूल्य २६५० अमेरिकी डलर प्रतिऔँस मूल्यमा काराेबार भएको छ। यसअघि अघिल्लो शुक्रबार सुनको मूल्य २६६३.७५ प्रतिऔँस अमेरिकी डलर पुगेको थियो। जुन विश्वबजारमा हालसम्मकै उच्च हो।
अन्तर्राष्ट्रिय बजारमा ५ वर्षअघि अर्थात् २०१९ अक्टोबर ४ मा १४९९.१५ अमेरिकी डलर प्रतिऔँसमा सुनको कारोबार भएको काउन्सिलको तथ्यांक छ। त्यसयता हालसम्म विश्वबजारमा सुनको मूल्य ११५०.८५ अमेरिकी डलरले बढेको छ।
सन् २०२३ को अन्तिमदेखि यता विश्वबजारमा सुनको मूल्य आकाशिँदो छ।
विश्वमा सुनको मूल्य घटबढमा विश्वव्यापी माग, लगानी, उत्पादन, केन्द्रीय बैंकहरूको सञ्चिति र अमेरिकी डलरको मूल्यले योगदान गरिरहेका हुन्छन्। खासगरी कोभिड महामारीपछि महंगी र डलरको मूल्यले सुनको मूल्यमा प्रभाव पारेको छ।
बढ्दो माग
मानिसले लगाउने बहुमूल्य गरगहनामा सुनकै अधिकतम प्रयोग हुने गर्छ। यसले बजारमा सुनको माग बढाउँछ।
सन् २०२४ को दोस्रो त्रैमासिकमा गरगहनाका लागि भएको सुनको माग ८८ प्रतिशतसम्म रहेको वर्ल्ड गोल्ड काउन्सिलको तथ्यांक छ।
काउन्सिलका अनुसार सुनको माग धेरै हुनेमा ज्वेलरीले नै ठूलो हिस्सा ओगट्दै आएको छ।
त्यसैगरी औद्योगिक क्षेत्रमा पनि सुनको वार्षिक माग बढेको छ। यो वर्षको दोस्रो त्रैमासिकसम्म यस्तो माग ११ प्रतिशतले बढेको छ।
यसको अर्थ ज्वेलरी र इलेक्ट्रोनिक्सजस्ता उपभोग्य सामानको माग बढिरहेको छ। यसका लागि सुनको माग बढ्दा मूल्य पनि बढिरहेको छ।
