• Tuesday 6th of October 2026

एनपीएलका लागि ३२ जना छनोट गर्न २५६ विदेशी खेलाडीको सूची, कुन देशका कति ?


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी हुने ८ फ्रेन्चाइजलाई २५६ जना विदेशी खेलाडीको सूची उपलब्ध गराएको छ ।

त्यसमा २० जना खेलाडीको मूल्यसहित सूची उपलब्ध गराइएको छ । फ्रेन्चाइजले यो सूचीभन्दा बाहिरका विदेशी खेलाडीहरू पनि आबद्ध गर्न सक्छन् । एनपीएलमा हरेक फ्रेन्चाइजले ४-४ जना विदेशी खेलाडी आबद्ध गर्नेछन् । यसको मतलब प्रतियोगितामा ३२ जना विदेशी खेलाडीको सहभागिता रहने छ ।

अफगानिस्तानका १०, बंगलादेशका ५, क्यानडाका तीन, इङ्ल्यान्डका ५४, भारतका १५, अमेरिकाका ८, आयरल्यान्डका ९, नामिबियाका तीन, मलेसियाका एक, नेदरल्यान्ड्सका ४, न्युजिल्यान्डका ८, ओमानका ७, पाकिस्तानका ४०, स्कटल्यान्डका ८, दक्षिण अफ्रिकाका ८, श्रीलंकाका ६, यूएईका २७, युगान्डाका एक जना, वेस्ट इन्डिजका १५ जना र जिम्बावेका ८ जना खेलाडीको नाम फ्रेन्चाइजहरुलाई उपलब्ध गराइएको छ ।

सम्बन्धित खेलाडीहरूले देखाएको रुचीका आधारमा उनीहरूको नाम फ्रेन्चाइजलाई उपलब्ध गराइएको बुझिएको छ । प्रतियोगिताका लागि भारतीय खेलाडीहरूले ३ करोड रुपैयाँसम्म माग गरेका छन् । सुरेश रैना र शिखर धवनले ३/३ करोड भारतीय रुपैयाँ दिए प्रतियोगिता खेल्ने जानकारी गराएका छन् ।

एनपीएलमा फ्रेन्चाइजले नेपाली खेलाडीलाई २ लाखदेखि १५ लाख रुपैयाँसम्म खर्चिएका छन् । मार्की खेलाडिको हकमा २०/२० लाख रुपैयाँ दिइएको छ । एनपीएल आगामी मंसिर १६ देखि सुरु हुँदैछ । प्रतियोगिताका लागि फ्रेन्चाइजहरुले धमाधम विदेशी खेलाडी भित्र्याइरहेका छन् । वेस्ट इन्डिज र दक्षिण अफ्रिका अनि इङ्ल्यान्डका खेलाडीहरू आबद्ध भइसकेका छन् । प्रतियोगितामा हरेक फ्रेन्चाइजसँग १२ नेपाली र ४ विदेशीसहित १६ सदस्यीय टिम हुने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖