• Tuesday 6th of October 2026

साफ महिला च्याम्पियनसीप गुमाउँदा कहाँ–कहाँ चुकेछन् नेपाली चेली, साम्बा घेराबन्दीमा


  • धनकुटा खबर
  • .

काठमाडौं– साफ महिला फूटबल फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि कतिपय ठाउँमा चुकेको स्थिति रहेको स्मरणीय छ।

बंगलादेशसँग २–१ अन्तरले पराजित भएपछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मुख्य प्रशिक्षक पदबाट सन्यासको घोषणा गरेका छन्।

महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग पराजित भएपछिको पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताए।

प्रशिक्षकको कमजोरी के कति थियो त्यो बारे अलग टिप्पणी हुन सक्ला। तर, नेपालले पाएको अनेक मौकामा नेपाली चेलीले अवसर सृजना गर्न सकेनन् भने एक मात्र आशाको किरण बनेकी साबित्रा भण्डारी उर्फ साम्बा घेराबन्दीमा परेकी थिइन्।

नेपालले पहिलो स्वर्ण मौका १० औँ मिनेटमा पाएको थियो। सावित्रा भण्डारीले मिलाइ दिएको पासमा अमिषा कार्कीले डी–बक्स बाहिरबाट उत्कृष्ट प्रहार गरिन्। तर बल क्रसबारमा लागेर फर्किन पुग्यो।

२० औँ मिनेटमा अमृता जैसीले पहेँलो कार्ड पाइन्।

२७ औँ मिनेटमा अमिषाले अर्को मौका पाइन्। डी–बक्स भित्र वान भर्सेस वानको स्थिति बनेकोमा बललाई नियन्त्रणमा राख्न नसक्दा उनले गोल गर्ने मौका गुमाइन्।

नेपालले पहिलो हाफमा सावित्रालाई एक्लो स्ट्राइकरको रूपमा उभ्याउँदै रक्षात्मक रणनीति लिएको थियो। त्यसले गर्दा धेरैजसो समय नेपाली पक्ष दबावमा देखियो।

सावित्रालाई तीनजना विपक्षी रक्षकले घेरेपछि उनले गोल प्रयासका लागि कमै मौका पाइन्। पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिदा दोस्रो हाफको छैटौँ मिनेटमा बाङ्ग्लादेशले मोनिका चक्माको गोलमार्फत् खेलमा अग्रता लियो।

तर तुरुन्तै नेपालले जबाफी गोल फर्कायो। ५६ औँ मिनेटमा प्रिति राईको पासमा अमिषाले गोल गरिन्।

तर ८१ औँ मिनेटमा रितु पूर्ण चक्माले अर्को गोल गर्दै बाङ्ग्लादेशलाई अग्रता दिलाइन्। बायाँ कर्नरको कुनाबाट उनले गरेको प्रहार सिधै गोलमा परिणत हुन पुगेको थियो।

त्यसपछि नेपालले गोल फर्काउन सकेन र खेल बंगलादेशको पक्षमा गयो।

नेपालले पहिलो पटक उपाधि हात पार्ने मौका गुमाए पनि ६ पटक उपबिजेता हुने मौका पनि हात लगायो। भारत जस्तो देशलाई पराजित गरी फाइनल पुगेको नेपाली टोलीले प्रयास गरे पनि जित निकाल्ने धोको पूरा गर्न पाएन।

तर, यो प्रयत्नलाई सम्मान गर्दै काठमाडौं महानगरपालिकाले २५ लाख नगदसहित महिला टोलीलाई ठूलो सम्मान गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖