• Tuesday 6th of October 2026

‘पूर्णबहादुरको सारंगी’ हेरेपछि विजयलाई बधाई दिँदै दयाहाङले यसो भने…


  • धनकुटा खबर
  • .

अभिनेता दयाहाङ राईले फिल्म ‘पूर्णबहादुरको सारंगी’ हेर्दा आफूलाई निकै आनन्द महशुस भएको बताएका छन्।

बुधबार बेलुका काठमाडौंको सीडीसी सिनेमाजमा गरिएको विशेष शोमा पहिलोपटक यो फिल्म हेरेका दयाहाङले अभिनेता विजय बरालको सफलतामा आफू निकै खुसी रहेको बताए।

फिल्म हेरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, – ‘एकदम आनन्द लाग्यो। फिल्म हेर्दा आफूलाई पनि कनेक्ट हुने। हरेक पात्रहरूमा आफूलाई पाएँ। म एक बाउ पनि हो। म छोरा पनि हो। श्रीमान पनि हो। साथी पनि हो। त्यो सबै चिजको कनेक्सन पाएँ।’

सर्वाधिक कमाउने नेपाली फिल्मदेखि विभिन्न रेकर्ड कायम गरिरहेको ‘पूर्णबहादुरको सारंगी’ मा विजय बराल मुख्य भूमिकामा छन्।
मण्डला थिएटरबाट अभिनय करिअर सुरु गरेका दयाहाङ र विजयले एकसाथ काम गरेका ‘कबड्डी’ देखि ‘जारी’ लगायतका थुप्रै फिल्म हिट छन्।

अभिनेता दयाहाङले आफू विजयको संघर्षको साक्षी रहेको बताए।

‘मैले विजयलाई चिनेको १७ वर्ष भयो। त्योबेला देखि उसले अभिनय बाहेक अरू गरेको थिएन्। लगातार सिनेमा गरेको चाँहि १३ वर्ष भयो होला,’ दयाहाङले भने, ‘यो उसको लगनशीलता हो। आफ्नो कामप्रतिको इमान्दारिता हो। यो सफलता त्यसको मूल्य हो। त्यसमा मलाई एकदमै गर्व र खुसी लागिरहेको छ। यो एकदिन हुनुथियो। अझै बढी हुने अपेक्षा गरेको छु।’

दयाहाङले विजयको अभिनयको खुलेर तारिफ गरे।

अगाडि भने, ‘मैले उसको अभिनय हेरेको १७ वर्ष भयो। हरेक पटक उसले मलाई ट्वा पार्ने हो। नाटकमा मेरो निर्देशकमा उसले काम गरेको छ। मेरो कोएक्टरको रूपमा काम गरेको छ। हरेक अनसेट उसले ट्वा पार्ने हो। आम मानिसहरूले लिड क्यारेक्टरलाई अगाडि हेर्छन्। तर, उसले पछाडि कति आनन्दले काम गरिरहेको हुन्छ। पूर्णबहादुरको सारंगीमा उसले मुख्य चरित्र पायो। चरित्रलाई मजाले ह्याण्डिल गरेर लगेको छ।’
यसरी इमान्दारिताका साथ काम गर्नु कलाकारलाई चुनौती हुने बताउँदै दयाहाङले विजयलाई बधाइ समेत दिए।

सरोज पौडेल निर्देशित फिल्मले घरेलु बक्स अफिसमा २५ करोडमाथिको व्यापार गरेको छ। गन्धर्व समुदायको कथामा आधारित फिल्ममा छोराको भविष्यका लागि बाबुले गरेको संघर्षलाई मर्मस्पर्शी रूपमा देखाइएको छ।

फिल्ममा विजयसहित प्रकाश सपुत, अञ्जना बराईली, मुकुन भुसाल, बुद्धि तामाङ, देशभक्त खनाल, अलिशा बास्कोटा, भोलाराज सापकोटा लगायतको अभिनय छ। विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन्।
फिल्म बिहीबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖