• Tuesday 6th of October 2026

यू-१९ एसिया कपका लागि नेपालको अन्तिम टोली घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । युएईमा यही नोभेम्बर २९ देखि सुरु हुने एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

एसीसीले शनिवार हेमन्त धामीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले १८ जनाको नाम सार्वजनिक गरेको थियो ।

कर्नाटक यू१९ टिम विरुद्ध पाँच खेलको सिरिजपछि नेपालको अन्तिम टोली घोषणा भएको हो । १८ जनामा रहेका मध्ये राजेश यादव, दयानन्द मण्डल र दिलसाद अली भने अन्तिम टिममा परेनन् ।

अन्तिम टोलीमा समावेश भएका १५ मध्ये ७ खेलाडी नोभेम्बर ३० देखि सुरु हुने नपाल प्रिमियर लिग (एनपीएल) का लागि पनि विभिन्न टिममा छनोट भएका छन् ।

ती खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउनेछन् । क्यान प्रवक्ता छुम्बी लामाले फ्रेन्चाइज टिमहरुसँग सल्लाह गरेर यू-१९ एसिया कपपछि टिममा फर्कने सहमति सहित उनीहरुलाई टिममा राखिएको हो ।

यू-१९ टिमका कप्तान हेमन्त धामीसहित आकाश त्रिपाठी जनकपुर बोल्ट्समा अनुबन्ध छन् भने उपकप्तान अर्जनु कुमाल र नरेन साउद सुदूरपश्चिम रोयल्समा अनुबन्ध छन् । यसैगरी नरेन भट्ट विराटनगर किंग्समा, रन्जित कुमार चितवन राइनोजमा, युनिश विक्रम ठकुरी कर्णाली याक्समा अनुबन्ध भएका छन् । यी ७ खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउने छन् ।

काठमान्डु गुर्खाज, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबाट भने कुनै पनि खेलाडी यू१९ टिममा छैनन् ।

नेपाली यू-१९ टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षक छन् ।

नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू१९ एसिया कपकमा नेपाल समूह बी मा छ । नेपाल रहेको समूह्यमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ मै श्रीलंकासँग खेल्नेछ । यस्तै डिसेम्बर १ मा बंगलादेश र डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ ।

भारत, पाकिस्तान, युएई र जापान समूह ए मा छ । दुवै समूहको शीरेष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । खेलहरु दुबई र सारजहाँमा हुनेछ ।

नेपाल यू–१९ टिम:

हेमन्त धामी (कप्तान), अर्जनु कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उतत्म रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडेल,अभिषेक तिवारी, रन्जित कुमार

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖