• Monday 5th of October 2026

के टेस्ला फोन सार्वजनिक गर्दैछन् एलन मस्क ?


  • धनकुटा खबर
  • .

काठमाडौं । फेसबुक र टिकटकमा अहिले टेस्ला फोन सर्च गरियो भने एउटा पोस्ट निकै भाइरल भइरहेको देखिन्छ । पोस्टमा विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले एन्ड्रोइड र आईओएसलाई टक्कर दिन यही डिसेम्बरमा फोन ल्याउन लागेको दाबी गरिएको छ । नेपाली भाषामा राखिएका अधिकांश पोस्टमा मस्कले ल्याउने भनिएको फोनको फिचरबारे चर्चा गरिएको छ ।

“एलन मस्कले टेस्ला फोन यही डिसेम्बरमा सार्वजनिक गर्ने तयारी गरेका छन् । यो फोनमा चार्ज र इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ । यसको मूल्य केवल २९९ डलर अर्थात् नेपाली रुपैयाँमा झन्डै ४० देखि ४१ हजार पर्छ,” लेखिएको छ ।

त्यस्तै अन्य केही पोस्टमा यो फोन सूर्यको किरणबाट आफैं चार्ज हुने, जहाँकहीं इन्टरनेट प्रयोग गर्न सकिने, कार र घर फोनबाटै नियन्त्रण गर्न सकिने, मस्तिष्कबाटै फोन नियन्त्रण गर्न सकिने किसिमका दाबी गरिएको छ ।

सामाजिक सञ्जालमा यस्ता पोस्ट बारम्बार सार्वजनिक भइरहेका छन् । यसको वास्तविकता के हो त ? कसरी फैलिरहेको छ यस्तो अफवाह ? यहाँ त्यसैबारे चर्चा गर्दैछौं:

के टेस्लाले फोन सार्वजनिक गरिसकेको छ ?

टिकटक र फेसबुकमा कतिपयले टेस्लाले फोन नै सार्वजनिक गरेको दाबी गरेका छन् । नेपालबाहिरका देशबाट सञ्चालित पोस्टमा यो फोन १०० डलर (करिब साढे १३ हजार रुपैयाँ) मा उपलब्ध भइसकेको दाबी गरिएको छ । तर, आधिकारिक रूपमा टेस्लाले फोन सार्वजनिक गरिसकेको प्रमाण कहीं कतै देखिंदैन ।

युट्युबमा पनि क्लिकबेट थम्बनेल राखेर धेरैले टेस्ला फोन सार्वजनिक भइसकेको दाबी गरेका छन् । तर, भिडिओभित्र भने असम्बन्धित विषय समावेश भएको देखिन्छ ।

टेस्लाकै वेबसाइटमा पनि कम्पनीले हालसम्म के-कस्ता प्रडक्ट ल्याएको छ भन्ने जानकारी देख्न सकिन्छ । फेसबुक प्रयोगकर्ताहरूले दाबी गरेको जस्तो ‘टेस्ला पाई’ फोनका बारेमा त्यहाँ केही विवरण पनि छैन ।

मस्कले आफ्ना प्रडक्टको प्रचार गर्ने प्लेटफर्म एक्स (पहिलेको ट्वीटर) नै हो । त्यसमा पनि मस्कले पाई फोन सार्वजनिक भइसकेको विषयमा केही पोस्ट राखेका छैनन् ।

टेस्ला फोन आउनेबारे पछिल्लो समय थुप्रै रिपोर्टहरू सार्वजनिक भएका छन् । ती रिपोर्टमा टेस्लाले चाँडै फोन ल्याउने ‘पुष्टि’ गरेको दाबी गरिएको छ । तर, अहिलेसम्म यसबारे कुनै आधिकारिक जानकारी आएको छैन । साथै ती रिपोर्टमा प्रयोग भएका फोटो पनि विगत केही वर्षहरूमा डिजाइनरहरूले सार्वजनिक गरेका कन्सेप्ट डिजाइन (अवधारणात्मक चित्र)बाट लिइएको देखिन्छ ।

मूलधारका स्थापित प्रविधि पोर्टलहरूले यसबारे खबर प्रकाशित गरेका छैनन् । त्यसैले हालको अवस्थामा यो वास्तविकता होइन भन्ने निश्चित गर्न सकिन्छ । कम्तीमा अहिलेसम्म ‘टेस्ला फोन अब छिट्टै आइहाल्छ’ भन्ने दाबी भ्रामक हो ।

हुन त टेस्ला नामको एउटा अर्को स्मार्टफोन ब्रान्ड पनि छ । यस कम्पनीले फिचर र स्मार्टफोन बनाउने जानकारी दिएको छ । फोनको विवरण, मूल्य र खरिद गर्न सकिने लिङ्क पनि उसको वेबसाइटमा छ । तर, मस्कसँग यस कम्पनीको कुनै सम्बन्ध छैन । यो कम्पनीले पनि आफूहरू मस्कसँग जोडिएको दाबी कहीँ गरेको छैन । यस कम्पनीले आफ्नो वेबसाइटमार्फत विद्युतीय कार निर्माता कम्पनीसँग कुनै सम्बन्ध नरहेको उल्लेख गरेको छ ।

आफूहरू चर्चित वैज्ञानिक निकोला टेस्लाबाट प्रभावित भएर फोनको नाम टेस्ला राखेको उनीहरूको दाबी छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले दाबी गरेको जस्तो यो कम्पनीको फोन अत्याधुनिक भने छैन ।

टेस्लाले फोन बनाउने विषयमा एलन मस्कले के भनेका छन् ?

टेस्लाका मालिक एलन मस्कले नै समय समयमा फोनबारे विभिन्न धारणा दिइरहेका हुन्छन् । उनले फोनका विषयमा राखेका धारणा नै यस्ता अफवाह फैलिने प्रमुख कारण बन्छन् ।

‍सन् २०२० मा मस्कले एक्समा पोस्ट राख्दै स्मार्टफोनहरू ‘हिजोका प्रविधि’ भनेका थिए । उनले न्युरालिङ्कको विशेषता चर्चा गर्दै यस्तो अभिव्यक्ति दिएका थिए । मस्कको कम्पनी न्युरालिङ्कले तीन जनाको मस्तिष्कमा चिप प्रत्यारोपण गरिसकेको दाबी गरेको छ । तर, दाबी गरिएको जस्तो सोचेकै भरमा डिभाइस नियन्त्रण गर्न सकिने प्रविधि त्यसमा समावेश हुन अझै वर्षौं लाग्न सक्छ ।

मस्कले फोन विकास गरिरहेका छन् वा फोन विकास गर्ने विचार गरिरहेका छन् भन्ने विषय दर्साउने केही कारण छन् ।

सन् २०२२ मा सामाजिक सञ्जाल ट्वीटर खरिद गरिसकेपछि मस्क जोडतोडले त्यसलाई रिब्रान्ड गर्नतर्फ लागे । सबैभन्दा पहिले कम्पनीको नाम परिवर्तन गरेर उनले ट्वीटर इङ्कबाट एक्स कर्पोरेसन राखे । त्यसपछि सामाजिक सञ्जालको नाम नै परिवर्तन गर्न तम्सिए । उनले ट्वीटर एप र वेबसाइटलाई रिब्रान्ड गरेर एक्स बनाउने निधो गरे ।

तर, यता एप्पलले भने सुरुवातमा मस्कलाई ‘एक अक्षर’को नाम एपमा राख्ने नदिने योजना बनायो । त्यसैको आवेगमा आएर मस्कले एप्पललाई टक्टर दिन आफ्नै फोन ल्याउने सङ्केत दिए ।

हालैको द स्ट्यान्डर्डको रिपोर्ट अनुसार ट्रम्पको राजनीतिक अभियानका क्रममा मस्कले टेस्ला र फोनसम्बन्धी आफ्नो विचारहरू सार्वजनिक गरेका थिए । मस्कले भनेका थिए, “त्यो त ठूलो काम हो । फोन बनाउने सोचले नै मलाई निराश बनाउँछ । तर, यदि फोन बनाउनै पर्ने अवस्था आयो भने हामी बनाउँछौं । अहिलेलाई फोन नबनाउन नै हामी प्राथमिकता दिन्छौं ।”

मस्कको यो प्रतिक्रिया उत्साहजनक छैन भन्ने प्रस्ट छ । मस्कले नोभेम्बर २०२३ मा न्युयोर्क टाइम्सको एक कार्यक्रममा भनेका थिए, “यदि फोन बनाउन एकदमै आवश्यक भयो भने म बनाउनेछु । तर मेरो धेरै कामहरू बाँकी छन् ।”

यस्तै विचार उनले हालैको द जो रोगन एक्सपिरियन्स पडकास्टमा पनि दोहोर्‍याएका थिए । मस्कले भनेका थिए, “हामी फोन बनाउने पक्षमा छैनौं । तर, यदि एप्पल र गुगल एन्ड्रोइडले खराब कामहरू गर्न थाले जस्तै एपहरू सेन्सर गर्ने वा हानिकारक तरिकाले गेटकिपरजस्तो व्यवहार गर्न थाले भने हामी फोन बनाउनेछौं ।”

टेस्लाले अचानक कुनै नयाँ फोन घोषणा गर्न सक्ने सम्भावना पूरै असम्भव भने छैन । तर, मस्क आफ्ना भनाइमा यो विषयमा खासै उत्साहित देखिएका छैनन् ।

यदि टेस्लाले फोन बनाइहाल्यो भने के कस्ता फिचर समावेश होलान् त ?

माथि उल्लेखित विभिन्न सामग्रीबाट के देखिन्छ भने तत्कालै मस्क र उनको कम्पनी टेस्लाले स्मार्टफोन ल्याउने कुनै चालचुल गरेको छैन । तर मस्ककै भनाइलाई आधार मान्ने हो भने नल्याउला पनि भन्न सकिंदैन । यदि टेस्लाले फोन ल्यायो भने त्यसको डिजाइन कस्तो होला ?

कन्सेप्ट आर्टिस्ट अन्टोनियो डि रोजाले टेस्लाले अपनाउन सक्ने केही फोनका डिजाइन सार्वजनिक गरेका थिए । यहाँ क्लिक गरेर ती फोटो हेर्न सक्नुहुन्छ । यही भिडिओमा उनले फोन कस्तो हुन सक्छ भन्नेबारे आफ्नो व्यक्तिगत धारणा दिएका छन् । तर, शतप्रतिशत यिनै फिचर र यस्तै डिजाइन हुन्छ भन्ने प्रमाण चाहिं कतै छैन । तिनै कन्सेप्ट डिजाइन र फिचरका फोटो नै अहिले फोनका फोटो भन्दै बाहिरिएका हुन् ।

सोलर पावरबाट चार्ज हुने
टेस्लाले ल्याउने फोनमा सोलर पावर हुने अफवाह फैलाइएको छ । त्यही सोलर प्यानलले गर्दा फोनलाई छुट्टै चार्ज गरिरहन नपर्ने भन्दै चर्चा गरिएको छ । यस अफवाहले भने केही अर्थ बोकेको छ । खासगरी वातावरण संरक्षणतर्फ केन्द्रित टेस्ला ब्रान्डले यस्तो प्रविधि ल्याउन सक्नेमा कुनै शंका छैन । त्यस्तै मस्ककै अर्को कम्पनीले पनि सोलर प्रविधि बनाउनमा केन्द्रित छ ।

फोनका लागि उपयुक्त सोलर प्रविधि विकास गर्नु त्यति सामान्य विषय पनि होइन । अधिकांश समय पकेट वा अन्धकार ठाउँमा हुने फोनमा राखिने सोलर प्रविधि आफैमा बढी अत्याधुनिक हुनुपर्छ ।

टेस्लाले ल्याउने भनेको मोडेल पाई फोन टेस्लामा इन्टिग्रेट हुने भनिएका रिपोर्ट पनि बाहिर आएका छन् ।

स्टारलिङ्क सपोर्ट
टेस्ला मोडेल पाई फोनले मस्ककै अर्को कम्पनी स्पेसएक्सले सञ्चालन गर्ने स्टारलिङ्क इन्टरनेट प्रयोग गर्ने अफवाह फैलिएको छ । स्टारलिङ्क स्याटलाइटमा आधारित फास्ट इन्टरनेट सेवा हो, जसले फाइभजी कल्पना नगरिएकै ठाउँमा पनि त्यत्तिको स्पिडको इन्टरनेट उपलब्ध गराउन सक्छ ।

आईफोन १४ सिरिज पछिका आईफोन तथा ह्वावे मेट ५० प्रो पछिका ह्ववावे फोनमा स्याटलाइट कनेक्टिभिटी सेवा उपलब्ध भइसकेको छ । तर, यो सेवा आपतकालीन अवस्थामा मात्र प्रयोग गर्न सकिन्छ । टेस्लाले फोन ल्यायो भने त्यसैमा स्टारलिङ्क इन्टरनेट उपलब्ध नहोला भन्न सकिंदैन ।

अरू ग्रहमा पनि प्रयोग गर्न मिल्ने
टेस्लाले ल्याउने फोन अरू ग्रहमा पनि प्रयोग गर्न सकिने दाबी गरिएका तमाम पोस्ट छन् । खासगरी मङ्गल ग्रहमै पनि टेस्लाको फोनमा स्टारलिङ्क इन्टरनेट प्रयोग गर्न सकिने दाबी गरिएको छ । तर, आधिकारिक रूपमा यसरी मङ्गल ग्रहमै इन्टरनेट कनेक्ट गरेर फोन प्रयोग गर्न सकिने जानकारी कहीं कतै पनि आएको छैन ।

फोनको मूल्यले पनि धेरै चर्चा पाएको छ । केही नेपाली फेसबुक पेज सञ्चालकले यो फोन २९९ डलर (करिब ४० हजार रुपैयाँ) मै उपलब्ध हुने ठोकुवा गरेका छन् । चर्चा गरिएकै मध्ये आधा मात्र फिचर आए पनि यस फोनको मूल्य अहिले बजारमा भएका फोनको भन्दा बढी पर्ने देखिन्छ । अनुमानित मूल्य बाहिर सार्वजनिक भएको आधिकारिक प्रमाण छैन । त्यसैले मूल्य १०० डलर वा २९९ डलर हुने दाबी पनि भ्रामक नै हो ।-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖