• Monday 5th of October 2026

यी घरेलु विधि, जसले रुघाखोकी निको बनाउन सकिन्छ


  • धनकुटा खबर
  • .

काठमाडौं ।जाडोयाम सुरु भएसँगै रुघाखोकीको समस्याले धेरैलाई सताउँछ । रुघाखोकी निको पार्न सबैजसो मानिसले औषधिको सहारा लिन्छन् । तर सामान्य रुघाखोकी लाग्दैमा औषधि सेवन गरिहाल्नु उचित नहुने चिकित्सकहरू बताउँछन् ।

रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । रुघाखोकी निको पार्न केही घरेलु ओखती प्रयोग गर्न सकिन्छ, जुन हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ ।

बेसार पानी पिउने

बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ । बेसारमा पाइने कुर्कुमिन रुघाको समस्यासँग लड्न प्रभावकारी तत्त्व मानिन्छ । किनकि यसले रोगप्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसबाट राहत पाउन एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर एकछिन छाड्नुपर्छ । त्यसपछि चिया जस्तै पिउनुपर्छ । यसलाई बिहान बेलुका दुई पटक सेवन गर्नुपर्छ ।

प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने

रुघाखोकीले सताएको बेला प्रशस्त मात्रामा मनतातो पानी, झोलिलो पदार्थ तथा प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु राम्रो हुन्छ । यस्ता खानेकुराले रोगप्रतिरोधात्मक क्षमता बढाएर रुघाखोकीलाई कम गर्न सहयोग गर्छ ।

मह र मनतातो पानी

रुघाखोकीको समस्याले ग्रसित भएको समयमा महको सेवन अचुक औषधि हुनसक्छ । महमा रोगप्रतिरोधात्मक गुण हुन्छ । महलाई मनतातो पानीमा मिसाएर सेवन गर्दा रुघाखोकी निको हुन्छ । मह रुघाखोकीका लागि बनाइने अधिकांश झोल पदार्थमा प्रयोग गरिन्छ ।

अदुवा

अदुवाले सुक्खा खोकी वा दमको खोकीलाई कम गर्न सक्छ, किनकि यसमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ । यसले दुखाइबाट पनि राहत प्रदान गर्न सक्छ । अदुवामा भएको एन्टी–इन्फ्लेमेटरी गुणले घाँटीलाई शान्त पार्न सक्छ, जसले गर्दा खोकी कम हुन्छ । तातोपानी वा दूधमा अदुवाको रस र मह मिसाएर खाएमा पनि रुघाखोकी निको हुन्छ ।

अमृत भण्डारी आयुर्वेदिक चिकित्सक

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖