वासिङ्टन डिसी । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईका एक जना अनुसन्धानकर्ता मृत फेला परेका छन् । प्रशासनले दिएको जानकारी सुचिर बालाजी नाम गरेका ती कर्मचारी सान फ्रान्सिस्कोस्थित आफ्नै अपार्टमेन्ट मृत भेटिएका हुन् ।
सुचिरको बारेमा सोधपुछ गरिदिन भनेर फोन आएको र त्यसपछि अनुसन्धान थालेको प्रहरीले बताएको छ । अनुसन्धानका क्रममा नोभेम्बर २६ मा सुचिरको शव फेला परेको प्रहरीले भनेको छ । सान फ्रान्सिस्कोका मेडिकल एग्जामिनरले सुचिर बालाजीको मृत्युको कारण आत्महत्या भएको बताएको छ ।
सुचिरले हालैका महिनाहरूमा धेरै पटक ओपनएआईको विरुद्धमा सार्वजनिक रूपमा बोलेका थिए । उनी एक ‘व्हिसलब्लोअर’ (कम्पनीको भन्डाफोर गरिदिने व्यक्ति) थिए ।
उनको खुलासापछि डेटा सङ्कलन गर्ने विधिलाई लिएर कम्पनीले धेरै मुद्दाको सामना गरिरहेको छ । सुचिरले अक्टोबरमा न्यूयोर्क टाइम्सलाई एक अन्तरवार्ता दिएका थिए ।
यसमा उनले ओपनएआईले अमेरिकाको प्रतिलिपि अधिकार कानूनको उल्लंघन गरेको आरोप लगाएका थिए ।
