• Monday 5th of October 2026

के बिहान उठ्ने बित्तिकै फोन चलाउनुहुन्छ ? यी हुनेछन् समस्या


  • धनकुटा खबर
  • .

काठमाडौं। आजकल स्मार्टफोन हाम्रो जीवनको अटूट हिस्सा बनिसकेको छ । स्मार्टफोन हाम्रो जिन्दगीमा यसरी हावी भइसकेको छ कि स्मार्टफोन बिना कुनैपनि काम चल्नसक्छ भन्ने लाग्दैन।

दिनभर कुनै न कुनै कामका लागि फोनको प्रयोग गरिन्छ । धेरैजनाको बानी त बिहान उठ्ने बित्तिकै ओछ्यानमा रहँदा देखि नै फोन चलाउने हुन्छ। तर एकाबिहानै स्मार्टफोनको स्क्रिनमा गाडिने यस्तो बानी हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ।

बिहान उठ्ने बित्तिकै स्मार्टफोन प्रयोग गर्ने बानीले प्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्य, मानसिक स्वास्थ्य तथा व्यक्तित्वलाई प्रभाव पार्दछ । एकाबिहानै फोन हेर्ने बानीका नकारात्मक असरहरु यस्ता छन् :

निद्राको गुणस्तर बिग्रिने

जब हामी सुतिरहेका हुन्छौँ, त्यसबेला हाम्रो दिमाग शान्त रहन्छ । त्यस्तोमा जब हामीले बिहानै फोनको स्क्रिन हेर्छौँ तब हाम्रो दिमाग अचानक सक्रिय हुन्छ र यसले हाम्रा दिमागका स्नायुसम्मै क्षति पुर्‍याउँछ । यदि यो बानी लामो समयसम्म रह्यो भने निद्राको गुणस्तर खराब हुने तथा सधै थकान महसुस भएको जस्तो समस्या पैदा हुन्छ ।

उच्च तनाव

स्मार्टफोनमा सोसल मिडिया, समाचार, इमेल तथा विभिन्न खालका एपहरुका नोटिफिकेसन आइरहन्छन्। बिहानै उठेर यस्ता सूचना हेर्नाले तनाव अर्थात् स्ट्रेस बढ्न सक्छ । बिहानै यदि नकारात्मक खबर हेरियो भने त्यसबाट हाम्रो मस्तिष्क नकारात्मकताले भरिन्छ र दिनभरको मुड खराब हुन्छ ।

उत्पादनशीलता घट्ने

यदि उत्पादनशीलता अर्थात् प्रडक्टिभिटी बढाउनु छ भने बिहानको समय सबैभन्दा धेरै उपयोगी हुन्छ । बिहानको समयमा हामीले आफ्नो पूरा दिनको योजना बनाउन सक्छौँ र त्यसलाई उत्कृष्ट बनाउन सक्छौँ। तर, जब हामीले बिहानै उठ्ने बित्तिकै फोनमा झुम्मिन थाल्छौँ, तब हाम्रो ध्यान भट्किन्छ र धेरै समय बर्बाद हुन्छ । यसबाट तपाईँको समय त बर्बाद हुन्छ नै काममा मन नलाग्दा उत्पादनशीलता पनि कम हुन्छ ।

आँखाको समस्या

स्मार्टफोनको स्क्रिनबाट निस्किने निलो प्रकाश हाम्रो आँखाको लागि निकै हानिकारक हुन्छ। बिहान स्मार्टफोनको प्रयोग गर्दा आँखामा जलन हुने, सुन्निने र धमिलोपन जस्ता समस्या उत्पन्न हुन्छ ।

त्यसैले बिहान उठ्ने बित्तिकै स्मार्टफोन चलाउनुको साटो अन्य विभिन्न गतिविधिमा ध्यान दिनु आवश्यक हुन्छ। बिहानको समयमा योगा, ध्यान, व्यायाम आदि गरेर आफ्नो दिनको सुरुवात गर्नुपर्छ। यसबाट हाम्रो दिमाग शान्त रहन्छ, राम्रो निद्रा पर्छ र उत्पादनशीलता पनि बढ्दछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖