• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

साउदीले मरूभुमीमा गरिरहेछ खेती, भारतको मरूभुमीमा फलाइयो आँप


  • धनकुटा खबर
  • .

काठमाडौं, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरुको विश्वास बढाएका छन् ।
 
तर, यसका लागि ठूलो लागत र योजनाबद्ध काम भने जरूरी देखिएको छ । सिँचाइ र खानेपानी व्यवस्थापनबाट यो सपना साकार पार्न सकिने विज्ञहरुको भनाइ छ । यसका साथै मरुभूमिको इको सिस्टम अध्ययन गरी आधुनिक प्रविधिको प्रयोग गरी हरियाली भूमि निर्माण गर्न सकिन्छ । यसका पुष्टी साउदी अरबको अल बैदा परियोजना र भारतको थार मरूभुमीमा आँप फलाएर देखाइसकेका छन् ।  
 
साउदीले कसरी मरुभूमिमा खेती गर्यो ?
साउदी अरेबिया जस्तो मरुभूमि देशमा धेरै कम वर्षा हुन्छ तर जब पानी पर्छ, ठूलो मात्रामा पानी पर्छ। अप्रिल २०२१ मा साउदी अरबका धेरै शहरहरू जलमग्नताको शिकार भएका थिए । 

तर, यो जलमग्नताको चुनौतीलाई अवसरमा परिणत गर्दै अल–बैदा आयोजनाका पूर्व निर्देशक तथा कृषि विज्ञ नाइल स्पेकम्यानले  वर्षाको पानीलाई जमिनमा जम्मा गर्न सके यो दिगो पानीको स्रोत बन्न सक्ने बताए पछि यो प्रयास सुरू भएको हो ।

विज्ञहरूले गाउँलेहरूसँग मिलेर पश्चिमी उपत्यकाको चट्टानी पर्खालहरूमा बाँध र टेरेसहरू निर्माण गर्न काम गरे। यसका साथै वर्षाको पानी जम्मा गर्न केही किलोमिटर लामो नाली पनि निर्माण गरियो । यो पानी खाँचोमा परेका क्षेत्रमा पुर्याइन्छ, जसका कारण यो जमिनमा पुगेर पानीको सतहलाई कायम राख्छ। यसले यहाँ यति धेरै परिवर्तन ल्यायो कि जहाँ पहिले बालुवा र ढुङ्गा थिए, अहिले त्यहाँ रुख, बोटबिरुवा र घाँस उम्रिन थालेका छन् । यो प्रविधि अब उत्तर अफ्रिकी देशहरूमा पनि मरुभूमिको फैलावट रोक्नको लागि अपनाइएको छ।
 
थार मरुभूमिमा आँप फलाइयो
भारतको राजस्थान राज्यको दक्षिणी क्षेत्रमा किसानहरूले आँप खेती गर्छन् तर थार मरुभूमिमा अत्यधिक गर्मी र पानीको अभावका कारण आँपको बगैचा लगाउन निकै गाह्रो भइरहेको थियो । आँपका रुखहरू पानी नहुँदा सुकिरहेका थिए ।

तर, यसका बावजुद खिन्वसर तहसीलका एक किसान रामेश्वर सोनीले मरुभूमिमा आँपको सफल खेती गरेर उदाहरण देखाए उनले आफ्नो बगैंचामा केसर जातका दुईवटा आँप लगाएका छन्, जसले केही वर्षमै फल दिन थालिसकेको छ ।

रामेश्वरलाई प्रोपर्टी डिलरका साथै बगैंचामा पनि रुचि छ । उनलाई आँपको रुख रोप्ने ठूलो रहर थियो । त्यसैले उनले उनका साथी पुष्करबाट दुईवटा आँपको बिरुवा अर्डर गरे र आफ्नो बगैंचामा रोपेका थिए । उनले रासायनिक मलको सट्टा प्राङ्गारिक मल प्रयोग गरे र नियमित सिँचाइ गरे । यही हेरचाहको नतिजा केही वर्षभित्रै दुवै आँपका रुखले फल दिन थाल्यो ।

सोही क्रममा किसानले यसका लागि ७ देखि ८ फिट गहिरो खाडल खन्नुपर्ने बताए । यस खाडलमा गाईको गोबर, बालुवा, स्थानीय मल र पोखरीको कालो माटो मिसाउनु पर्छ । यस पछि मात्रै बिरुवा रोपिन्छ र नियमित सिंचाई गरिन्छ। बिरुवाहरूलाई कीराहरूबाट जोगाउन पनि सिलिकन पाउडर छर्कन आवश्यक छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖