• Monday 5th of October 2026

आइफोनले चीनमा अलिबाबाको एआई प्रयोग गर्ने


  • धनकुटा खबर
  • .

अमेरिकी कम्पनी एप्पलले चीनमा बिक्री हुने आइफोनमा चिनियाँ कम्पनी अलिबाबाको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गर्ने भएको छ।

अलिबाबाका अध्यक्ष जोसेफ साइले बिहीबार अलिबाबाले चीनमा बिक्री हुने आइफोनमा एआई सेवाहरू प्रदान गर्न एप्पलसँग साझेदारी गर्ने बताएका हुन्।

चीनको अत्यन्त प्रतिस्पर्धात्मक एआई बजारमा एप्पलसँगको यो साझेदारी अलिबाबाका लागि ठूलो सफलता भएको रोयटर्सले जनाएको छ।
बिहीबार नै अर्को चिनियाँ कम्पनी बाइडुले आफ्नो एआई च्याटबट नि:शुल्क प्रयोग गर्न दिने घोषणा गरेको छ।

केही समयअघि चिनियाँ एआई कम्पनी ‘डिपसिक’ ले यस्तै खालका अमेरिकी कम्पनीहरूलाई प्रतिस्पर्धामा उछिनेपछि सेयर बजारमा तहल्का मच्चिएको थियो। त्यसको केही दिनपछि नै अलिबाबाले आफ्नो ‘क्वेन २.५’ एआई मोडलको नयाँ संस्करण सार्वजनिक गरेको थियो। आफ्नो नयाँ एआई मोडलले जिपिटी- ४ ओ, डिपसिक- भी ३ लगायतलाई लगभग सबै क्षेत्रमा पछि पारेको अलिबाबाले दाबी गरेको थियो।

चीनमा स्थानीय कम्पनीसँग साझेदारी गर्नुपर्ने हुनाले एप्पलले आफ्ना सबै एआई फिचरहरू चीनमा उपलब्ध गराउन बाँकी नै रहेको साइले बताए। उनले एप्पलसँगको साझेदारी दीर्घकालीन हुने अपेक्षा गरेको बताए। तर एप्पलका लागि चीनमा एआई सेवा प्रदान गर्ने अलिबाबा मात्रै हो वा हुनेछ भन्नेबारे खुलाएनन्।

एप्पलले हालसम्म चीनमा एआई सेवाका लागि कुनै दीर्घकालीन साझेदार घोषणा गरेको छैन।

चीनमा हुवावे, भिभो लगायत स्थानीय कम्पनीबाट चुनौतीको सामना गरिरहेको एप्पलका लागि पनि यो साझेदारी महत्वपूर्ण छ।

केही समययता चीनमा आइफोनको बिक्री खस्किरहेको छ। सन् २०२४ मा भिभो र हुवावेले स्मार्टफोन बिक्रीमा एप्पललाई उछिनेका थिए।
चीनमा बिक्री हुने आइफोनमा एआईसम्बन्धी उन्नत फिचरहरू नहुनु पनि यसको एउटा कारण भएको विश्लेषकहरूले बताएका छन्।

अलिबाबासँगको साझेदारीले एप्पललाई चीनमा घटिरहेको आइफोनको बिक्री बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖