काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित रामपुर बस्ने २७ वर्षीय रोहित राना त्रिशूली नदीमा बेपत्ता छन् ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर त्रिशूलीमा खसेका उनको खोजी भइरहेको छ ।
इलाका प्रहरी कार्यालय, मुग्लिनकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरला भण्डारीका अनुसार उनी बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका थिए ।
बेपत्ता रानाका परिवारका सदस्य सम्पर्कमा आइसकेको भण्डारीले बताइन् ।
‘परिवारका सदस्यहरू भर्खरै आइपुग्नुभएको छ,’ इन्स्पेक्टर भण्डारीले भनिन्, ‘उहाँ मोटरसाइकलमा एक्लै सवार हुनुहुँदो रहेछ ।’
अहिले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोलीले त्रिशूलीमा उनको खोजी गरिरहेको छ ।
बिहान लगभग ११ बजेर ५० मिनेटको समयमा मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोक्किएको थियो । मोटरसाइकल भने सडकमै छ ।
‘डिभाइडरमा उछिट्टिएर उहाँ झर्नुभएको रहेछ,’ इन्स्पेक्टर भण्डारीले भनिन्, ‘खोजी जारी छ । भेटिएको छैन ।’
ती व्यक्ति मोटरसाइकलबाट नदीमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामपुर बस्ने उनी भारतीय सेनामा कार्यरत थिए ।
घटनास्थलमा उनले बोकेको पर्स, केही कागजात, लुगा, जुत्ता भेटिएको छ ।
